
काठमाडौं, २८ मंसिर । नपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई सभापतिको दोस्रो चरणको मतदानमा समर्थन गर्ने भएको छ ।
सिंहले समर्थन गर्ने बताए लगत्तै निधि निवास पुगेका देउवालाई पनि निधिले सभापतिमा समर्थन गर्ने बताएका छन् । निधिको सचिवालय स्रोतका अनुसार ‘सभापतिमा उहाँले देउवालाई नै समर्थन गर्नुभएको छ । यसबारे विज्ञप्ति जारी गरेर विस्तृतमा बताउँछौं,’। सभापतिको पहिलो चरणको चुनावमा निधिले २ सय ४९ मत पाएको थिए ।
यस्तै, कांग्रेस सभापति निर्वाचनको पहिलो चरणमा २२ मत पाएका पाँचौ उम्मेदवार कल्याण गुरुङले पनि सभापतिमा देउवालाई समर्थन गर्ने बताएको छ । उनले आाफ्ना मतदातासँग आजै बिहान छलफल गरी पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्न सभापतिमा देउवालाई समर्थन गर्ने निर्णय गरेको बताए।
यसअघि नै, सिंहले देउवालाई समर्थन गर्ने बताइसकेको छ । देउवासँग भेटपछि नेता सिंहले देउवालाई समर्थन गर्ने बताएका हुन् । दोस्रो चरण मतदान हुने भएपछि मंगलबार बिहान देउवा नेता सिंलाई भेट्न उनको निवास पुगेका थिए । भेटपछि पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले भने, ‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौँ ।’
सभापतिको पहिलो चरणको चुनावबाट सिंहले ३७१ मत पाएका थिए । योसँगै दोस्रो चरणको चुनावमा देउवालाई सहज हुने देखिएको छ ।
दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो चरणको मतदान दिउँसो साढे ३ बजेदेखि बेलुका साढे सात बजेसम्म राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा तोकिएको मतदान केन्द्रमा हुनेछ ।