काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । देउवासँग भेटपछि नेता सिंहले देउवालाई समर्थन गर्ने बताएका हुन् ।
दोस्रो चरण मतदान हुने भएपछि मंगलबार बिहान देउवा नेता सिंलाई भेट्न उनको निवास पुगेका थिए । भेटपछि पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले भने, ‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौँ ।’
उनले नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर प्रतिस्पर्धामा उत्रिएको बताउँदै भने, ‘देउवाजीले मलाई सहयोग गर्न भन्नुभएको छ । विधान संशोधन र पार्टीमा भइरहेका कमिकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ । पार्टीभित्र सुधार ल्याउन र देउवाले कार्यशैली परिवर्तन गर्नुपर्नेछ ।’
दोस्रो चरणको चुनावमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेकाले देउवा सभापतिमा निर्वाचित हुने लगभग पक्का भएको छ ।
पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका थिए । ३७१ मत पाएर तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, २५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ सभापति पदको दोस्रो चरणको निर्वाचनबाट आउट भएका छन् ।