दोस्रो चरणमा देउवा र कोइरालामध्ये कसले जित्ला ?
अखबार टुडे
प्रकाशित:
२०७८, २८ मंसिर

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिको निर्वाचनका लागि दोस्रो चरणको मतदान हुने भएको छ ।

दोस्रो चरणमा हुने मतदान आजै गर्ने तयारी भएको निर्वाचन समितिले जनाएको छ । अब दोस्रो चरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।

आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो । तर देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन । अर्का उम्मेदवार शेखर कोइरालाले १७४९ मत पाएका छन् । तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, चौथो स्थानमा रहेका बिमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ भने सभापतिको दौडबाट बाहिरिएका छन् ।

आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत अर्थात अर्थात ५१ प्रतिशत मत ल्याउनुपर्छ ।

धेरै उम्मेदवारबीच मत बाँडिदा पहिलो चरणमा कसैले पनि त्यति मत प्राप्त गर्न नसकेको देखिन्छ । अब दोस्रो चरणको मतदान पनि निकै रोक हुने देखिएको छ । शीर्ष दुई बाहेकका उम्मेदवारले कसको पक्ष लिन्छन् र पहिलो चरणका आधारमा केही मतदाताले मन फेर्न सक्ने सम्भावनाले समेत दोस्रो चरणको नतिजा निक्यौल गर्नसक्छ ।

सभापति पदबाहेकका उम्मेदवारले भने ५० प्रतिशत बढी ल्याउनुपर्ने बाध्यता छैन । बाँकी पदमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।

प्रतिक्रिया