भोलिदेखि एमआरपी वितरण बन्द हुने, ई–पासपोर्ट बनाउन शुल्क कति लाग्छ?
अखबार टुडे
प्रकाशित:
२०७८, २७ मंसिर

काठमाडौं, २७ मंसिर । काठमाण्डौ उपत्यका बाहिरका जिल्लाबाट पनि छिटै ‘विद्युतीय राहदानी अर्थात ई–पासपोर्ट’ वितरण सुरु हुने राहदानी विभागले जनाएको छ ।

विभागका महानिर्देशक डोरनाथ अर्यालले पूर्व–पश्चिम राजमार्गसँग जोडिएका जिल्लाबाट केही दिनभित्रै ई–पासपोर्ट वितरण सुरु हुने जानकारी दिए । त्यसपछि क्रमशः सबै जिल्लाबाट ई–पासपोर्ट वितरण सुरु हुने उनको भनाइ छ ।

विभागले मंसिर १ गतेदेखि काठमाण्डौबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । अहिलेसम्म मेसिन रिडेबल पासपोर्ट अर्थात एमआरपी र ई–पासपोर्ट दुवै वितरण हुँदै आएकोमा भोलिदेखि एमआरपी वितरण बन्द हुने भएको छ । अब ई–पासपोर्टको मात्रै काम हुने हुँदा अहिलेसम्म देखिएका झण्झट अन्त्य हुने महानिर्देशक अर्यालको भनाइ छ ।

के हो ई–पासपोर्ट ?
ई–पासपोर्ट चिप्स र विद्युतीय बारकोडसहित यो विशेष र सुरक्षित पासपोर्ट हो । विश्वका १ सय २० भन्दा बढी देशले अहिले जारी गरिरहेका ई–पासपोर्टमा चिप्स हुन्छ र त्यसमा पासपोर्टवाहकको सबै जानकारी उपलब्ध हुन्छ ।

यसका साथै नेपालमा जारी भएको पासपोर्ट आधिकारिक हो कि होइन भनेर त्यसको डिजिटल सिग्नेचर र ‘कि’हरू आइकाओमार्फत सम्पूर्ण देशमा शेयर हुने भएकाले संसारका सबै अन्तर्राष्ट्रिय अध्यागमन मै पासपोर्टको आधिकारिकता र पासपोर्ट बोकेको मानिस हो कि होइन भनेर जाँच गर्न सकिनेछ ।

ई–पासपोर्ट एमआरपीभन्दा बढी सुरक्षित, आधिकारिक र अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त पासपोर्ट हो । एमआरपीको तस्बिर भएको पेज अर्थात् डाटा पेजमा ‘अप्टिकल क्यारेक्टर रिकग्नाइजेसन फर्म्याट’मा मेसिन रिडेबल जोन हुन्छ । पासपोर्ट रिडर मेसिनले रिड गर्दा त्यसमा उल्लेखित महत्वपूर्ण विवरणहरू देखिन्छन् ।

विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुनाले यात्रा गर्दा अध्यागमनमा सहज हुन्छ । चिपमा औँठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरणहरू हुन्छन् । यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न नसक्ने हुनाले यसको आधिकारिकता धेरै हुन्छ । साधारण पासपोर्टको रङ्ग भने परिवर्तन हुनेछ । साधारण पासपोर्ट चकलेटी खैरो हुन्छ भने यसको पृष्ठ पनि ३४ र ६६ पेज गरी दुई प्रकारका हुनेछ ।

ई–पासपोर्ट बनाउन कस्तो कागजपत्र चाहिन्छ?
बाँकी प्रक्रिया सबै पुरानै भए पनि विद्युतीय राहदानी अर्थात ई–पासपोर्ट लिनका लागि सरकारले जारी गरेको राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य छ । जिल्ला प्रशासन कार्यालयहरुबाट तत्कालै राष्ट्रिय परिचयपत्र नपाए पनि जिल्ला प्रशासन कार्यालयमा आवेदन भरेपछि पाइने परिचयपत्र नम्बर पासपोर्टमा अनिवार्य गरिएको छ ।

तर विदेशमा भएका कारण राष्ट्रिय परिचयपत्र बनाउन नसक्ने व्यक्तिको हकमा भने एमआरपीलाई नै आधार मानिने बताइएको छ । एमआरपी भएका व्यक्तिले हाल विद्युतीय राहदानी लिन आवश्यक नरहेको विभागका अधिकारीहरू बताउँछन् । समयावधि रहेसम्म उनीहरूले एमआरपीकै प्रयोग गर्न पाउने र नयाँ बनाउँदा विद्युतीयमा जानुपर्ने उनीहरूले बताएका हुन् ।

ई–पासपोर्ट बनाउन शुल्क कति लाग्छ?
एमआरपी बनाउन जस्तै ई–पासपोर्ट बनाउन पनि उतिनै शुल्क लाग्ने विभागले जनाएको छ । विभागको वेबसाइटअनुसार नयाँ पासपोर्ट बनाउन वा पुरानो नवीकरणका लागि कति दिन भित्र बनाउने हो त्यो अनुसार शुल्क तोकिएको छ ।

तीन दिनमा राहदानी लिनका लागि विभागले १०,००० रुपैयाँ तोकेको छ भने दुई दिनमा राहदानी लिनका लागि १२,००० र एक दिनमा राहदानी लिनका लागि १५,००० रुपैयाँ लाग्ने जनाएको छ ।

प्रतिक्रिया