शनिबार छुट्टिनु र मंगलबार मिसिनु किन हुँदैन ?
अखबार टुडे
प्रकाशित:
२०७८, २७ मंसिर

काठमाडौं, २७ मंसिर ।

घाँटी छुँदा फुफु गरेर हात फुक्नुको कारण के होला ?
बिट फुटेको थाल वा कचौरामा किन खानु हुँदैन ?
बिरालोले बाटो काट्दा किन अशुभ मानिन्छ ?
शनिवार छुट्टिनु र मङ्गलवार मिसिनु किन हुँदैन ?
पानी नपर्दा किन भ्यागुताको बिहे गराइएको होला ?

नेपाल प्रज्ञा–प्रतिष्ठानले यी र यस्तै अनेकौँ प्रश्नहरूका उत्तर लोकजीवनबाट खोजेर ‘नेपाली लोकविश्वास’ नामक कृति प्रकाशन गरेको छ । पछिल्लो समयमा ऐतिहासिक महत्त्वका गुणात्मक मूल्य राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशन गर्दै आएको प्रज्ञा–प्रतिष्ठानले यस कृतिमा नेपाली लोकजीवनमा युगौँयुगदेखि रहँदै आएका विश्वासहरूलाई एकै ठाउँमा समेटेर प्रकाशन गरेको हो ।

प्रस्तुत कृति नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको अनुसन्धान परियोजनाअन्तर्गत डा. षडानन्द पौड्यालले तयार गरेका हुन् । एघार अध्यायमा विभाजित प्रस्तुत कृतिको पहिलो अध्यायमा लोकविश्वासको सैद्धान्तिक स्वरूप प्रस्तुत गरिएको छ भने दोस्रो अध्यायदेखि नवौँ अध्यायसम्म मानव शरीरसँग, खानासँग, मानवेतर शरीरसँग, यात्रासँग, व्यवहारसँग, शास्त्रीय विधानसँग, संस्कृतिसँग र सपनासँग सम्बन्धित आठ सयभन्दा बढी लोकविश्वासहरूलाई कतै सूचनात्मक र कतै विश्लेषणात्मक ढाँचामा प्रस्तुत गरिएको छ ।

यस कृतिको दसौँ अध्याय प्राज्ञिक महत्त्वका दृष्टिले उल्लेखनीय छ । यसमा नेपाली साहित्यमा लोकविश्वासको प्रयोग के कसरी गरिएको छ भन्ने कुरालाई अनुसन्धानमूलक ढाँचामा प्रस्तुत गरिएको छ । यहाँ नेपाली कथामा, कविता–काव्यमा, उपन्यासमा, नाटकमा, निबन्धमा र लोकगीतमा नेपाली लोकविश्वासको प्रयोग कसरी गरिएको छ भन्ने कुराका बारेमा गहिरो खोजी गरिएको छ । एघारौँ अध्याय यस कृतिको निष्कर्ष हो । त्यसपछि यहाँ चर्चा गरिएका सबै लोकविश्वासहरूको सूची दिइएको छ ।

सुन्दा सामान्य लाग्ने तर वर्षौंदेखि नेपाली लोकजीवनको प्रतिबिम्ब बनेर बसेका लोकसामग्रीहरूलाई कृतिका रूपमा प्रकाशन गर्नु प्रज्ञा–प्रतिष्ठानको प्रशंसनीय कार्य हो । यो कृति त्रिविलगायत विभिन्न विश्वविद्यालयमा नेपाली लोकसाहित्य र लोकजीवनको अध्ययन, अध्यापन र अनुसन्धान गर्नेहरूका लागि मात्र नभएर सर्वसाधारण पाठकका लागि पनि अत्यन्त उपयोगी रहेको विभागीय प्रमुख प्राज्ञ डा. देवी नेपालले बताउनुभएको छ ।

उनका अनुसार लुकेर बसेका हाम्रा लोकसम्पदाहरूलाई बाहिर ल्याएर कृतिको रूप दिने प्रयास स्वरूप यो कृति तयार भएको हो । यसमा नेपाली लोकजीवनसँग जोडिएका साहित्य, संस्कृति, धर्म, समाजशास्त्र, अर्थशास्त्र आदि सबै कुराको अध्ययन गर्न मिल्ने सामग्रीहरू एकै ठाउँमा भएकाले यो कृति सबैका लागि बौद्धिक तथा मनोरञ्जनात्मक खुराक बन्ने छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको अनुसन्धान तथा प्रकाशन परियोजनाअन्तर्गत यसभन्दा अगाडि नै ‘लोकसाहित्य सिद्धान्त’, ‘प्रज्ञा नेपाली लोककथा’ ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’, ‘नेपाली लोकरामायणका विविध रूप’ जस्ता ऐतिहासिक महत्त्वका कृतिहरू प्रकाशन भइसकेका छन् भने लोकवार्ताअन्तर्गत पर्ने सम्पूर्ण पद वा पदावलीहरूको जानकारी एकै ठाउँमा समेटिएको ‘लोकवार्ताकोश’ प्रकाशनका लागि अन्तिम सम्पादन कार्य भइरहेको र ‘पूर्वेली मौलिक लोकभाकाहरू’ अब तत्कालै प्रकाशन हुने जानकारी प्राज्ञ नेपालले दिए ।

कुनै सकारात्मक विश्वास र कुनै अन्धविश्वासका रूपमा रहेका लोकविश्वासहरूलाई एकै ठाउँमा समेटिएको ५२० पृष्ठ र ५६० मूल्य रहेको प्रस्तुत कृति नेपाल प्रज्ञा–प्रतिष्ठानको विक्रीकक्षमा र अधिकृत विक्रेतामार्फत देशभरका पुस्तक पसलहरूमा प्राप्त गर्न सकिने प्रज्ञा–प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया