कांग्रेसलाई नेता बनाएर पुँजीवादतर्फको यात्रामा प्रचण्ड र माधव : पोखरेल
अखबार टुडे
प्रकाशित:
२०७८, २७ मंसिर

काठमाडौं, २७ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिशनमा लागेको बताएका छन् ।

सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन् । प्रचण्ड र नेपाल पुँजीवादतर्फको यात्रा गरेको नेपाली कांग्रेसलाई नेता बनाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिशनमा लागेको महासचिव पोखरेलको दावी छ ।
‘हामीले भन्यौँ ६२–६३ को परिवर्तन पछाडि अब समाज कहाँ जाने भन्ने कुराका सन्दर्भमा दुईवटा कित्ताका बिचमा बाँडिनेछ, एउटा समाजवाद तर्फको यात्रा र अर्को पुँजीवाद तर्फको यात्रा’ उनले भने, ‘पुँजीवाद तर्फको यात्राको नेतृत्व कांग्रेसले गर्छ भनेर भन्यौँ तर आज प्रचण्ड र माधव नेपालहरु कांग्रेसलाई नेता बनाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिशनमा लाग्नुभाछ ।’
उनले एमालेलाई तीनै तहको निर्वाचनमा बहुमतप्राप्त पार्टीको रुपमा स्थापित गर्नु जरुरी रहेको बताउँदै भने, ‘एमालेलाई भविष्यमा पनि गठबन्धनद्वारा नेतृत्वभन्दा बाहिर राख्ने षड्यन्त्र भइरहेको छ । सो षड्यन्त्रलाई चिर्नका लागि जनताको बलियो समर्थनको आवश्यकता छ ।’

प्रतिक्रिया