‘मिस युनिभर्स २०२१’ को उपाधि भारतकी हरनाज सन्धुलाई (तस्बिरसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, २७ मंसिर

काठमाडौं, २७ मंसिर । भारतकी सुन्दरी हरनाज कौर सन्धुले ‘मिस युनिभर्स २०२१’ को उपाधि जितेकी छन् ।

सोमबार इजरायलको इएलाटमा आयोजित ७०औं मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि पार्दै सन्धुले मिस युनिभर्सको ताज पहिरिन सफल भएकी हुन् । उनलाई गत वर्षकी मिस युनिभर्स मेक्सिकन मोडल एन्ड्रिया मेजाले ‘मिस युनिभर्स’को ताज लगाइदिइन् ।

२१ वर्षीया सन्धु मिस युनिभर्स बन्ने तेस्रो भारतीय सुन्दरी हुन् । मिस युनिभर्समा भाग लिनु पहिला उनले फिल्म क्षेत्रमा समेत काम गरेकी छन् ।

उनी अभिनित पञ्जाबी फिल्म ‘भाइ जी कुटाङ्गे’ र ‘यारा गियान पू बरम’ आगामी वर्ष रिलिज हुँदैछन् । योसँगै भारतले २१ वर्षपछि मिस युनिभर्सको उपाधि जितेको छ । यसअघि सन् १९९४ मा सुस्मिता सेन र २००० मा लारा दत्ताले उक्त उपाधि जितेका थिए ।

मिस युनिभर्सको विश्व प्रतिस्पर्धामा नेपालको तर्फबाट मिस युनिभर्स नेपाल’ सुजिता बस्नेतले सहभागिता जनाएकी थिइन् । सुजिताले नेपालको चिनारी झल्कने कस्ट्युम प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया