भक्तपुर, २६ मंसिर । नेकपा एमालेले पार्टीका नेताहरूको वरीयताक्रम तोकेको छ । आइतवार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीहरूको वरीयताक्रम तोकेको हो ।
वरीयताक्रम अनुसार अध्यक्ष केपी ओली पहिलो र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रोमा छन् । यस्तै उपाध्यक्षहरूमा युवराज ज्ञवाली पहिलो, रामबहादुर थापा दोस्रो, विष्णु पौडेल तेस्रो, सुवास नेम्वाङ चौथो र सुरेन्द्र पाण्डे पाँचौँ वरीयतामा छन् ।
यस्तै महासचिव शंकर पोखरेलपछि उपमहासचिवमा प्रदीप ज्ञवाली पहिलो, पृथ्वीसुब्बा गुरुङ दोस्रो र विष्णु रिमाल तेस्रो वरीयतामा छन् । सचिवहरूमा टोपबहादुर रायमाझी पहिलो, लेखराज भट्ट दोस्रो, रघुवीर महासेठ तेस्रो, छविलाल विश्वकर्मा चौथो, गोकर्ण विष्ट पाँचौँ, योगेश भट्टराई छैटौँ र पद्मा अर्याल सातौँ नम्बरमा परेका छन् ।
यसैगरी, बैठकले नेकपा एमालेले सातै प्रदेशमा अध्यक्ष र इन्चार्ज तोकेको छ । बैठकले प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने र इन्चार्जमा देवराज घिमिरेलाई तोकेको छ ।
यस्तै प्रदेश २को अध्यक्षमा रामअवतार यादव र इन्चार्जमा रघुवीर महासेठ, वाग्मतीको अध्यक्षमा केशवराज पाण्डे र इन्चार्जमा काशीनाथ अधिकारी तथा गण्डकीको अध्यक्षमा नवराज शर्मा र इन्चार्जमा पद्मा अर्याल चयन हुनुभएको छ ।
यस्तै लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र इन्चार्जमा छविलाल विश्वकर्मा, कर्णालीको अध्यक्षमा विनोदकुमार शाह र इन्चार्जमा यमलाल कँडेल तथा सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी र इन्चार्जमा लेखराज भट्ट चयन भएका छन् । यस्तै केन्द्रीय कमिटी बैठकले काठमाण्डौ उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई तोकेको छ ।