काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले पहिलो चरणमा कोसैले पनि सभापति नजित्ने बताएका छन् । निधिले सभापतिका उम्मेदवार धेरै भएकाले पहिलो चरणमा कसैले ५१ प्रतिशत मत नल्याउने दावी गरेका हुन् ।
महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारसँगको कुराकानी गर्दै उनले भने, ‘पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत कटाउने देखिँदैन । त्यसपछि दोस्रो चरणमा सभापति पदका लागि चुनाव हुन्छ । त्यसबेला देउवाइतर रहेका हामी सबै एक हुन्छौं ।’ उनले दोस्रो चरणमा आफू, प्रकाशमान सिंह र शेखर कोइरलाले देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताएका छन् ।
आफूले रामचन्द्र पौडेललाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउन आग्रह गरे पनि सभापति शेरबहादुर देउवाले नमानेको बताए । उनले अझै केही दिन निर्वाचन कार्यक्रम पर सारेर पौडेललाई सर्वसम्मत सभापति बनाउन सकिने तर्क गरेका थिए ।
यसअघि देउवा गुटमा नै रहेका निधिले दोस्रो चरणमा देउवालाई सघाउन सक्ने अनुमान गरिँदै आएको थियो । तर, सबैको अनुमानविपरीत निधिले दोस्रो चरणमा देउवाइतर समूहसँग मिल्ने खुलासा गरे ।
नेपाली काँग्रेसको विधानअनुसार सभापतिको उम्मेदवारले जित हात पार्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । कसैले पनि ५० प्रतिशत मत नल्याए दोस्रो चरणमा पहिलो र दोस्रो हुने दुई उम्मेदवारबीच पुनः मतदान गर्ने विधानमा व्यवस्था छ ।