
काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेस १४औँ महाधिवेशनमा सभापति पदका लागि मुख्य चारसहित ६ जना नेताको उम्मेदवारी दिएका छन् ।
पार्टीको चौधौं महाधिवेशनबाट नयाँ नेतृत्वको लागि वर्तमान सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमेलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
देउवाले नेता कृष्णप्रसाद सिटौला समूहसँग समीकरण गरेर प्यानलसहित उम्मेदवारी दिएका हुन् । संस्थापनइतर समूहमा भने सहमति हुन नसकेपछि शेखर कोइराला र प्रकाशमान सिंहको उम्मेदवारी परेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल भने प्रतिस्पर्धाबाट बाहिरीएको छ । उनले कोइराला समूहलाई समर्थन गरेका छन् ।
संस्थापनइतर समूह विभाजित भएपछि देउवालाई फाइदा हुने भएको छ । तर यसअघि नै देउवा समूहबाट अलग्गिएका विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिएका छन् ।
पहिलो चरणमा हुने मतदानमा कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ । ५१ प्रतिशत मत प्राप्त हुन नसकेमा पुन मतदान हुनेछ । दोस्रो पटक हुने मतदान भने शीर्ष दुईमात्र प्रतिस्पर्धी हुनेछन् ।
यस्तै, उपसभापतिमा विजय गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्यश्वरी शाहले मनोनयन दर्ता गराएका छन् ।
गच्छदार र खड्का देउवाको प्यानल, गुरुङ र भण्डारी कोइरालाको प्यानल, सुजाता कोइराला प्रकाशमान सिंह प्यानल र दिव्यश्वरी शाहले विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिएका हुन् ।
यस्तै, महामन्त्रीमा डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा र डा. राजाराम कार्कीले मनोनयन दर्ता गराएका छन् । महत र पौडेल सभापति देउवा, रिजाल र थापा कोइराला, शर्मा प्रकाशमान सिंह र कार्कीले निधि प्यानलबाट उम्मेदवारी दिएका हुन् ।
यस्तै, ८ सहमहामन्त्री पदका लागि १९ जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा खस आर्य, महिला, दलित, मधेसी, जनजाति, पिछडिएको क्षेत्र, थारु र अल्पसंख्यक क्लस्टरबाट एक एक जना निर्वाचित हुनेछन् ।
देउवा समूहबाट महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेशीबाट महेन्द्र यादव, खस आर्यबाट किशोरसिंह राठौर, थारुबाट उमाकान्त चौधरी, अल्पसंख्यकबाट फरमुल्लाह मन्सुर (बारा) र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार छन् ।
शेखर कोइराला समूहबाट सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट शेख वकिलले उम्मेदवारी दिएका छन् ।
सहमहामन्त्रीमा यीबाहेक सुरेन्द्रप्रसाद चौधरी, रञ्जित कर्ण, गंगा सुनार र चेतराज बरालले पनि उम्मेदवारी दिएका छन् । त्यस्तै खुलातर्फको ३५ जना केन्द्रीय सदस्यका लागि १०९ जनाको उम्मेदवारी परेको छ । कुल १२१ केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको छ ।
