युक्रेनमाथि हमला गरे रुसले गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने बेलायतको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७८, २५ मंसिर

काठमाडौं, २५ मंसिर । रुसले यदि युक्रेनमाथि हमला गरे गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने बेलायतले चेतावनी दिएको बीबीसीले जनाएको छ ।

बेलायतका विदेशमन्त्री लिज ट्रसले यसै सप्ताहान्तमा लिभरपूलमा हुने जी–सेभेन राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा एकताको प्रदर्शन गरिने र रुसको त्यस्तो खाले कदम रणनीतिक गल्ती हुने उक्त बैठकबाट स्पष्ट पारिने बताएकी हुन् ।

अमेरिका र उसका साझेदार देशहरूको पहिलेकै चेतावनी दोहो¥याउँदै ब्रिटिश विदेशमन्त्रीले भनेकी छन्, ‘जी–सेभेन युक्रेनका सम्बन्धमा आक्रमकताका विरुद्ध वास्तवमै कडा र बलियो रूपमा उभिन गइरहेको छ ।’ ‘यदि रुसले त्यस्तो गतिविधि ग¥यो भने त्यो रणनीतिक गल्ती हुनेछ र त्यसको रुसले गम्भीर परिणाम भोग्नुपर्नेछ ।’

रुसी आक्रामकताप्रति सैन्य प्रतिक्रियालाई अस्वीकार गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने प्रश्नको उत्तरमा ट्रसले यूकेले युक्रेनसँग रक्षा र सुरक्षा क्षमता अभिवृद्धिमा काम गरिरहेको बताइन् । उनले भनिन्, ‘हामी उनीहरूलाई सहयोग प्रदान गर्छौँ । हामी उनीहरूले रुसी ऊर्जा आपूर्तिमा मात्र भर पर्नु नपरोस् भनेर पनि सहयोग गर्न काम गरिरहेका छौँ र त्यसरी अन्ततः हामी युक्रेनलाई सहयोग प्रदान गर्न मद्दत गर्छौँ ।’

उनले यूके र ईयूले पश्चिमा देशहरूले ऊर्जाका लागि रुसमा भर पर्ने कुरालाई कम गर्न प्रयास गरिरहेको पनि बताइन् । उनका अनुसार यदि रुसले युक्रेनमाथि हमला गरे जर्मनी र रुसबीच रहेको नोर्ड स्ट्रिम–२ ग्यास पाइपलाइन एउटा समस्या हुन सक्नेमा जोड दिइन् । उक्त विषयमा उनले जर्मनीका नयाँ विदेशमन्त्रीसँग जी–सेभेन बैठकमा कुराकानी गर्ने बताइएको छ ।

युक्रेनी सीमामा रुसले ठूलो मात्रामा सैनिकहरू एकत्रित गरेपछि तनाव बढेको छ । तर क्रेमलिनले युक्रेन कब्जा गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै आएको छ । रुसले युक्रेनलाई उक्साएको पनि आरोप लगाएको छ र उसले पूर्वतर्फ नेटोको विस्तार रोक्नुपर्ने तथा आफ्नो सीमा क्षेत्रमा हतियार र सैन्य उपस्थिति नबढाइने बारे ग्यारेन्टी खोजेको छ ।

प्रतिक्रिया