देउवाले भने, ‘काँग्रेसको सरकार बनाउँछु बनाउँछु बनाउँछु’
अखबार टुडे
प्रकाशित:
२०७८, २४ मंसिर

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सरकारमा आएपछि केपी ओलीको शासनबाट जनता मुक्त भएको बताएका छन् । गठबन्धन सरकारको नेतृत्व गर्दै आएका प्रधानमन्त्री देउवाले केपी ओली नेतृत्वको सरकारमा जनता डर र त्रासमा रहेको भन्दै आफू सरकारमा आएपछि त्यसबाट मुक्त गरेको जिकिर गरे ।

शुक्रबार सुरु भएको पार्टीको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘जनताले केपी ओलीको शासनबाट मुक्ति पाएका छन् । अब त्यो मुक्तिलाई कायम राख्ने कि नराख्ने भन्ने कुरा तपाईँहरूको हातमा छ ।’

प्रधानमन्त्री देउवाले आफूलाई पार्टी सभापतिमा जिताउन मञ्चबाटै आग्रह गरेका थिए । उनले कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘आउँदो सरकार काँग्रेसको हुन्छ, गाउँदेखि माथिसम्म । त्यो मेरो जिम्मा भयो ।’

उनले पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट कुनै किसिमको मनमुटाव राख्न नहुने समेत बताए । ‘भोलि चुनाव आउँछ, आन्तरिक निर्वाचनमा भएको मनमुटावले आगामी स्थानीय तहको र राष्ट्रिय निर्वाचनमा कुनै असर नगरोस्’ देउवाले भने ।

अब तीनै तहमा काँग्रेसको सरकार हुने दाबी गर्दै उनले त्यसका लागि आफूलाई जिताउन कार्यकर्तालाई आग्रह गरे । ‘कुनै पनि हालतमा डर र त्रासबाट मुक्त शासन ल्याएरै छाडिन्छ’ देउवाले भने, ‘काँग्रेसको सरकार बनाउँछु बनाउँछु बनाउँछु । तपाईंहरु मलाई साथ दिनुस् ।’

त्यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभापति देउवालाई देशको चिन्ता गर्न आग्रह गरेका थिए । कुनै कुनै पार्टीलाई काँग्रेसको औँला समाउन नपाउने हो कि भनेर चिन्ता रहेको भन्दै ओलीले एमाले राष्ट्रियता र विकासका मुद्दामा दलहरूसँग सहकार्य गर्न तयार रहेको बताए । ओलीले भने, ‘राष्ट्रियता, लोकतन्त्र, विकास सुशासन, सामाजिक न्यायको विषयमा एकै स्थान छ । हामी यो विषयमा सहकार्य गर्छौँ ।’

प्रतिक्रिया