काठमाडौं, २४ मंसिर । ‘पहिलोपटक यतिका धेरै एकैमञ्चमा नेपालका पूर्वप्रधानमन्त्रीहरु देख्न र भेट्न पाउँदा खुसी छु’ भारतीय जनता पार्टी (भाजपा)का नेता तथा पूर्वमन्त्री डा. हर्षवर्धनले भने, ‘यो एउटा संयोग पनि हो ।’
शुक्रबार काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १४औँ महाधिवशेनको उद्घााटन समारोहमा पाहना बनेर आएका डा. हर्षवर्धनले यसरी एकैमञ्चमा भारतका पूर्वप्रधानमन्त्रीहरु समेत आफूले देख्न नपाएको धारणा राखे ।
कांग्रेसको महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले एउटा पार्टीको महाधिवेशनमा देशका सबै पार्टीका नेता उपस्थित हुनु आफ्नो लागि नौलो रहेको बताए । केही समयअघि मात्र नेकपा एमालेको महाधिवेशनमा देशका प्रधानमन्त्री शेरबहादुर देउवा आफैँ उपस्थिति भएको स्मरण गर्दै उनले नेपाली राजनीतिक दललाई बधाई दिए ।
कांग्रेसको महाधिवेशन उद्घाटन समारोहले डा. हर्षवर्धनलाई मात्र खुसी बनाएन, नेपालका शीर्ष दलका नेताहरुलाई समेत एउटै मञ्चमा आमनासामने गराएको छ ।
शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई समेत एउटै मञ्चमा जुराएको छ ।
तत्कालीन नेकपामा कलह र विभाजनपछि ओली र प्रचण्डले झण्डै एक वर्षपछि पहिलोपटक एउटै मञ्च सेयर गरेका हन् । यस्तै, ओलीको नेपालले ६ महिनापछि मञ्च सेयर गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित तीन पूर्वप्रधानमन्त्री ओली, प्रचण्ड र नेपाललाई एकैसाथ आफ्नो अगाडि पाउँदा डा. हर्षवर्धनलाई खुसी लाग्नु स्वभाविक नै हो ।
तर, महाधिवेशन उद्घाटन समारोहमा अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भने देखिएनन् । यो समाचार तयार पार्दासम्म उनको उपस्थिति देखिएन । तर, हालै निर्वाचित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, उपेन्द्र यादवलगायतका अन्य दलका नेताहरुको समेत सहभागिता रहेको छ ।
कार्यक्रममा उनले नेपाल–भारतको सम्बन्धबारे कुरा राख्दै सन् २०१५ मा नेपालमा भूकम्प आउँदा भारतीय जनतालाई पनि पीडा भएको जिकिर गरेका थिए ।
साथै, कोभिडमा पनि भारतले नेपालीका लागि औषधीको व्यवस्था गरेको स्मरण गर्दै उनले भने, ‘कोभिड भारतमा पनि थियो तर नेपाल–भारतको सम्बन्ध यस्तो छ, त्यसका आधारमा भारतले नेपाललाई सहयोग गरेको थियो ।’ त्यो बीचमा भारतका प्रधानमन्त्री मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबीच दुईपटक भेट भएको धारणा राखेका थिए ।