काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नेपाल कम्युनिस्ट पार्टीका शीर्ष तीन नेता ‘एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल’ एउटै मञ्चमा देखिएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेयता उनीसँग प्रचण्ड र माधव नेपालको राम्रो सम्बन्ध रहेको छैन भने पछि सर्वोच्चको आदेशको बलमा एमाले र माओवादी ब्यूँतिएको थियो । यता माधव नेपालले एमाले नै विभाजन गरेका थिए । राजनीतिक तिक्तताका बीच तीन नेता आज एकै मञ्चमा देखिएका छन् ।
ओली–प्रचण्डबीच भेट नभएको झन्डै एक वर्ष भएको थयो । उनीहरूबीच अघिल्लो वर्ष पुसमा भेटवार्ता भएको थियो । त्यस्तै ओली–नेपालबीच पनि पाँच महिनापछि भेट भएको छ । ओली–नेपालबीच असार २३ गते भेट भएको थियो ।
कांग्रेसको १४ औँ महाधिवेशन भृकुटीमण्डपमा सुरु भएको छ । महाधिवेशनमा शुभकामना व्यक्त गर्न एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, मालेका महासचिव सिपी मैनालीलगायत पुगेका छन् । साथै कांग्रेसले निमन्त्रणा गरेका विदेशी पाहुना पनि सहभागी छन् ।
शुक्रबार उद्घाटन समारोह सकिएपछि शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ । महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले चयन गर्ने व्यवस्था छ ।
काँग्रेसमा उम्मेदवार मनोनयन दर्ता भोलि बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ पनि भोलि साँझ ५ देखि ७ बजेसम्म हुनेछ । दाबी विरोधउपर निर्णय पनि भोदि साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन भोलि २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २६ गते दिउँसो १२ः१५ बजे र मतदान २७ गते बिहान ८ बजेदेखि हुने कार्यतालिका छ ।