काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रक्षामन्त्री डा मीनेन्द्र रिजालले कांग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने बताएका छन् ।
शुक्रबार पार्टीको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले महाधिवेशनपछि नेतृत्वमा नयाँ अनुहार आउने बताएको हो । ‘अहिलेको नेतृत्व लिएर निर्वाचनमा जाँदा जनताले नपत्याउन सक्छन्, पार्टीभित्र नयाँ अनुहार आउनुपर्छ’, उनले भने ।
नेपाली कांग्रेसका नेता डाक्टर मीनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा उनले संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार बनाउने प्रयास भइरहेको बताए । आज बेलुकासम्म संस्थापन इतर समूहबाट साझा उम्मेदवार चयन गरिने मन्त्री रिजालले बताए ।
कांग्रेस महामन्त्रीमा गगन थापा र बालकृष्ण खाणले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । खाणले संस्थापन पक्षबाट उम्मेदवारीको घोषणा गरेका हुन् भने थापाले अहिलेसम्म आफ्नो कुनै समूहमा नरहेको बताएका छन् ।