काठमाडौं, २४ मंसिर । बालबालिकालाई पुस ४ गतेदेखि कोभिड–१९ विरुद्धको मोडेर्ना खोप दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हिमाली जिल्लासहित ५७ जिल्लाका १२–१८ वर्षको बालबालिकालाई विद्यालयमै केन्द्र तोकेर खोप दिइने छ ।
यसअघि फाइजर खोप अभियान सञ्चालन भएका २० जिल्लाका बालबालिकालाई भने फाइजर खोप नदिइने मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभागका अनुसार फाइजर खोप पनि छिट्टै आउँदैछ । यो खोप प्राप्त भएपछि फाइजर खोप अभियान सञ्चालन हुन्छ ।’
स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख सागर दाहालका अनुसार करिब १८ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने लक्ष्य रहेको छ । उनका अनुसार हिमाली जिल्लाको हकमा १०० भन्दा बढी र अन्य जिल्लाको हकमा २०० भन्दा बढी विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड बनाएका छौं । यो अभियान पुस १४ गतेमा सञ्चालन हुनेछ ।
दाहालका अनुसार यसअघि आएका समेत गरी पर्सि आइतवारसम्म मोडर्नाको ३६ लाख डोज खोप जम्मा हुनेछ । खोप आएलगत्तै सबै जिल्लामा पठाइने र पुस ४ गतेदेखि ५७ जिल्लाका बालबालिकालाई खोप लगाउन सुरु हुने जनाएको छ ।
यी हुन् बालबालिकालाई फाइजर खोप दिइने जिल्लाहरु
यसअघि फाइजर खोपका लागि तोकिएका २४ वटा विशेषज्ञ अस्पताल रहेका जिल्लाका बालबालिकालाई फाइजर खोप दिइने दाहालले बताए ।
यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, सिन्धुली, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराका गरी २४ वटा विशेषज्ञ अस्पतालबाट १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप दिइएको थियो ।
राष्ट्रिय खोप सल्लाहाकार समितिले बढी जनघनत्व भएको र यसअघि फाइजर खोप अभियान सञ्चालन भएका जिल्लाहरुमा फाइजर खोप दिन सुझाव दिएको दाहालले बताए ।
फाइजर खोप अभियान सञ्चालनका लागि तालिम प्राप्त जनशक्तिको आवश्यक पर्ने, प्रयोगका लागि प्राविधिक हिसावले पनि मोडेर्नाभन्दा यो खोप अलि फरक भएकाले बढी जनघनत्व भएको र यसअघि नै प्रयोगमा आएका जिल्लामा लगाउने निर्णय भएको दाहालले बताए ।
फाइजर खोपको तुलनामा मोडेर्ना खोप दुर्गम जिल्लाहरुमा लैजान सहज हुने भएकोले पनि ५७ जिल्लाका बालबालिकालाई मोडेर्ना खोप दिने निर्णयमा पुगेको दाहालले बताए ।