काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि काठमाडौं सुरु हुँदैछ । शुक्रबार दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।
कांग्रेसले महाधिवेशनका लागि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई निमन्त्रणा गरेको र विदेशस्थित विभिन्न राजनीतिक दलका नेताहरू पनि उद्घाटन कार्यक्रममा सहभागी हुने जनाएको छ । महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुन भारतबाट भाजपा र कांग्रेसआईका नेताहरू काठमाडौं आइसेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । यस्तै उनले उद्घाटन सत्र दुई घन्टा चल्ने बताए ।
शर्मामा अनुसार उम्मेदवारहरूको मनोनयन भने शनिबार हुनेछ । सोमबार बिहान ८ बजेदेखि मतदान गर्ने कार्यक्रम छ । कांग्रेसले विद्युतीय भोटिङ मेसिन प्रयोग नगर्ने भएको छ । मतदानका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लवमा मतदान स्थल रहनेछ । त्यस्तै २९ मतपत्र रहनेछ । कांग्रेसमा करिब चार हजार पाँच सय महाधिवेशन प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछ ।
शर्मामाका अनुसार उद्घाटन सत्र सकिएपछि आजै बन्द सत्र हुनेछ । बन्द सत्रमा दुइटा प्रतिवेदनमाथि छलफल हुनेछ । बन्द सत्रमा महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्काले पेश गर्ने संगठन प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले पेश गर्ने आर्थिक प्रतिवेदनबा छलफल हुनेछ ।
महाधिवेशनले आउँदो ५ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा करिब ४ हजार ६ सय प्रतिनिधि सहभागी हुँदैछन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।