च्याम्पियन्स लिग: पराजित बार्सिलोना २१ वर्षपछि समूह चरणबाटै बाहिरियो
अखबार टुडे
प्रकाशित:
२०७८, २३ मंसिर

काठमाडौं, २३ मंसिर । बायर्नसँग ३–० ले पराजित भएसँगै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । बार्सिलोना २१ वर्षपछि समूह चरणबाट बाहिरिएको छ ।

समूह ‘ई’ मा जित्नैपर्ने खेलमा बार्सिलोना पराजित भएको र अर्को खेलमा बेन्फिकाले जित निकालेपछि बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो । बायर्नको घरेलु मैदान एलिउन्ज एरिनामा आज बिहाने खेल समपन्न भएको थियो ।

बायर्नको जितमा थोमस मुलर, लरे साने र जमल मुसिएलाले एक÷एक गोल गरे । पहिलो हाफमा दुई गोलले पछाडि परेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल खायो । मुलरले खेलको ३४ औँ मिनेटमा गोल गरेपछि बायर्नले अग्रता बनाएको थियो । बायर्नका लागि खेलको ४३ औँ मिनेटमा सानेले गोल थपे । त्यस्तै खेलको ६२ औँ मिनेटमा मुसिएलाले गोल गरे । यसअघि नै नकआउट चरणमा पुगेको बायर्नले समूह चरणमा शतप्रतिशत जित निकालेको छ ।

बायर्नले ६ खेलबाट १८ अङ्क जोडेको छ । पराजित बार्सिलोना ७ अङ्कका साथ तेस्रो स्थानमा छ । च्याम्पियन्स लिगको अर्को खेलमा बेन्फिकाले डाइनाभो किभलाई २–० ले हराएको छ । बेन्फिका समूह ‘ई’ को उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भयो ।

प्रतिक्रिया