काठमाडौं, २२ मंसिर । अष्ट्रेलियामा हुने आइसिसी टि२० विश्वकप २०२२ को ग्लोबल छनोटमा नेपालले समूह ‘ए’ मा रहेर प्रतिस्पर्धा गर्ने भएको छ ।
१६ टिमले प्रतिस्पर्धा गर्ने ग्लोबल छनोटको समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । यस्तै, समूह बी मा जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् । ग्लोबल छनोटपछि दुवै समूहको शीर्ष स्थानमा रहने २-२ टोली गरी ४ टोलीले टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।
ग्लोबल छनोट २०२२ फेब्रुअरीमा ओमानमा आयोजना हुनेछ । सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको नेपाल त्यसयता छनोट हुन सकेको छैन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आधिकारिकरुपमा समूह विभाजन सार्वजनिक नगरेपनि साउथ चाइना मर्निङ पोष्टले स्रोतलाई उधृत गर्दै समूह विभाजन बारे समाचार प्रकाशित गरेको छ ।
आयोजक अष्ट्रेलियासहित शीर्ष ८ वरीयतामा रहेका इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्यु जिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान र बंगलादेश भने सिधै टी–२० विश्वकपको सुपर १२ मा स्थान पक्का गरेका छन् । यस्तै, वेस्टइन्डिज, श्रीलंका, नामिबिया र स्कटल्यान्डले टी–२० विश्वकपको पहिलो चरणमा स्थान बनाएका छन् । टी–२० विश्वकप २०२२ अक्टोबर–नोभेम्बरमा हुनेछ ।