काठमाडौं, २२ मंसरि । युक्रेनमा रुसले आक्रमण गर्नसक्ने त्रासबीच त्यसको कडा प्रतिक्रिया जनाउने तयारी गरिराखिएको अमेरिकाले जनाएको बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भिडियो वार्तापछि वासिङ्टनले सो कुरा भनेको हो । भिडिओ वार्ताका क्रममा बाइडनले रुसी सैन्य उपस्थिति बढाइएको विषयबारे चिन्ता व्यक्त गरेको र बलियो आर्थिक तथा अन्य प्रतिक्रियाको धम्की दिएको वासिङ्टनले जनाएको छ ।
पछिल्लो समय युक्रेनसँगको सीमा नजिकै रुसले सैन्य उपस्थिति बढाएको छ । तर छलफलका क्रममा रुसले युक्रेनलाई आक्रमण नगर्ने जनाएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कीएभमाथि उक्साहटपूर्ण कार्यहरू गरेको आरोप लगाएका छन् । उनले रुसनजिक हतियार तैनाथ नगर्ने र पूर्वतर्फ उत्तर एटलान्टिक सन्धि संगठन नेटोको विस्तार नगरिने विषयमा प्रत्याभूतिको माग गरेका थिए ।
सो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिका युक्रेनको अखण्डता र उसको स्वतन्ताप्रति प्रतिबद्ध रहेको बताएको थियो । त्यसैगरी सो वार्ताका क्रममा इरानको पारमाणविक सम्झौताका विषयमा पनि कुराकानी भएको पनि सो समाचारमा जनाइएको छ ।