अमेरिकाद्वारा बेइजिङमा हुने शीतकालीन ओलम्पिक कूटनीतिक बहिष्कार गर्ने घोषणा
अखबार टुडे
प्रकाशित:
२०७८, २१ मंसिर

वासिङटन, २१ मंसिर (एजेन्सी) । अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने सोमबार घोषणा गरेको छ ।

चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो । तर उसले अमेरिकी खेलाडीहरु भने उक्त प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने बताएको छ ।

गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएको थियो । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सोमवार बहिष्कारको पुष्टि गर्दै अमेरिकी प्रशासनले ओलम्पिकको उत्सवमा योगदान नगर्ने बताएको छ ।

चीनको विदेश मन्त्रालयले अमेरिकी बहिस्कारलाई ‘नाङ्गो राजनीतिक उक्साहटपूर्ण कार्य’को सङ्ज्ञा दिँदै उक्त कार्य चिनियाँ जनताविरुद्ध अपराध ठहरिने यसअघि नै बताइसकेको छ । वाशिङ्टनस्थित चिनियाँ दूतावासले बहिष्कारलाई एक कपटपूर्ण कार्य र राजनीतिक पहलको सङ्ज्ञा दिँदै प्रतियोगिताको सफलतामा यसले कुनै असर नपार्ने जनाएको छ ।

बाइडन प्रशासनको कदमलाई अमेरिकाका दुवै प्रमुख राजनीतिक दलका नेताहरूले प्रशंसा गरेका छन् । अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्सकी सभामुख न्यान्सी पेलोसीले प्रशासनको निर्णयको स्वागत गरेको बताएकी छन् ।

प्रतिक्रिया