म्यानमार ‘कू’: नेतृ आङ सान सुकीको जेल सजया आधा घटाउने निर्णय
अखबार टुडे
प्रकाशित:
२०७८, २१ मंसिर

रंगुन, २१ मंसिर (एजेन्सी) । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको जेल सजया आधा घटाउने निर्णय गरेको यहाँको सरकारी एमआरटीभीले जनाएको छ । सुकीको जेल सजाय चार वर्षबाट आधा घटाएर दुई वर्षमा झारिएको एमआरटीभीले उल्लेख गरेको हो ।

सोमबार म्यानमारको सैनिक अदालतले ७६ वर्षीया सुकीलाई दुई फरक फरक आरोपमा समान दुई÷दुई वर्षको जेल सजाय सुनाएको थियो । अदालतले सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड–१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो । सचीविरुद्ध ११ भिन्नाभिन्नै अभियोगहरू लगाइएका छन् ।

गत वर्ष फेब्रुअरी १मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो । त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् भने बन्द कोठाभित्र उनको मुद्दाको सुनुवाइ भएको थियो । उनलाई कहिलेदेखि जेलमा राखिने भन्नेबारे केही बताइएको छैन ।

सू ची नेतृत्वको नेशनल लिग फर डेमोक्र्यासी पार्टीले गत वर्षको आम चुनावमा बहुमत ल्याएको थियो तर उक्त चुनावमा धाँधली भएको भन्दै सेनाले कू गरेको थियो । तर स्वतन्त्र चुनाव पर्यवेक्षकहरूले भने निर्वाचन समग्ररूपमा स्वतन्त्र र निष्पक्ष रहेको बताएका थिए ।

उक्त कूपश्चात् म्यान्मारमा व्यापक विरोध प्रदर्शनहरू भएका थिए । सेनाले त्यहाँ प्रजातन्त्र समर्थकहरू, अभियानकर्मीहरू तथा पत्रकारहरूविरुद्ध दमन गरेको थियो । फेब्रुअरी यता सैन्य शासकहरूले १०,६०० भन्दा धेरै मानिस गिरफ्तार गरेका छन् भने विरोध प्रदर्शनका क्रममा १३०३ जना मारिएको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स नामक अनुगमन गर्ने समूहले जनाएको छ ।

गएको आइतबारमात्रै रंगुन सहरमा सैन्य ‘कु’को विरोधमा सडकमा प्रदर्शनगरीरहेकामाथि सेनाले गाडी कुदाउँदा पाँच जनाको ज्यान गएको थियो भने १५ जना घाइते भएका थिए । विरोधमा प्रदर्शन भइरहेको बेला सेनाको एउटा गाडी तीव्र गतिमा प्रदर्शनकारीहरूलाई किच्दै अघि बढेको थियो ।

प्रतिक्रिया