काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिहरूका लागि बसोबास र खानाको व्यवस्था गरेको छ । केन्द्रीय सदस्यसमेत रहेका भोजन तथा आवास समिति संयोजक सुरेन्द्रराज पाण्डेले आवास र भोजनका लागि व्यवस्थापन गर्ने काम भइरहेको बताए ।
उनकाअनुसार ठमेल, सुन्धारा र गौशालामा महाधिवेशन प्रतिनिधिलाई बसोबासका लागि होटल बुकिङ गरिएको छ । ‘अहिलेसम्म ३८ सय बेड बुकिङ भइसकेको छ । अब पाँच/सात सय बेड बुकिङ गर्न बाँकी छ, आज बुकिङ गरिसक्छौं,’ उनले भने । सबैभन्दा धेरै ठमेलका होटलमा गरी दुई हजार बेड बुकिङ गरिएको छ । एक हजार पाँच सय बेड भने गौशला र बाँकी सुन्धाराका होटलमा व्यवस्थापन गरिने उनले बताए ।
दैनिक ८ हजार जनाका लागि खानाको व्यवस्थापन गर्न दुइटा पार्टी प्यालेसलाई जिम्मा दिइएको छ । बसुन्धाराको दियालो फुडल्याण्ड र बत्तीसपुतलीको अनुपम फुडल्याण्डले खानाको व्यवस्थापन गर्नेछन्, पाण्डे भने ।
मंसिर २४ मा महाधिवेशन उद्घाटन भएदेखि मंसिर २७ गते बेलुकीसम्म महाधिवेशन प्रतिनिधिले भृकुटीमण्डपमा खाना खान पाउनेछन् । पाण्डेका अनुसार भोजन र आवास गरेर करिब साढे ३ करोड खर्च हुने अनुमान गरिएको छ । मंसिर २७ पछि पनि महाधिवेशन लम्बियो भने प्रतिदिन ८० लाख खर्च थपिँदै जाने उनले बताए ।
महाधिवेशन प्रतिनिधिहरूलाई उनीहरू बसेको होटलबाट भृकुटीमण्डपसम्म ओहोर–दोहोर गराउन १५० भन्दा बढी गाडी परिचालन गरिने छ । मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको १४ औं महाधिवेशन हुँदैछ। महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउने क्रम सुरू भइसकेको छ । कांग्रेसमा करिब चार हजार पाँच सय महाधिवेशन प्रतिनिधि छन् ।