एमसीसी सम्झौता लिने/नलिनेबारे अमेरिकालाई प्रष्टसँग भन्नुपर्छ: राजदूत खत्री
अखबार टुडे
प्रकाशित:
२०७८, २० मंसिर

काठमाडौं, २० मंसिर । नेपालले एमसीसी लिने वा नलिने बारे अमेरिकालाई प्रष्टसँग भन्नुपर्ने अमेरिकाका लागि प्रस्तावित राजदूत प्रोफेसर श्रीधर खत्रीले बताएका छन् ।

सोमवार संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत खत्रीले एमसीसीबारे नेपाल र अमेरिका दुवै देशका अधिकारीहरूले भ्रम फैलाउने काम गरेको दाबीसमेत गरे । उनले यो सम्झौतालाई इन्डो–प्यासेफिक रणनीतिसँग जोडेर हेर्न नहुने बताए ।

प्रस्तावित राजदूत खत्रीले भने, ‘धेरैजसोले इन्डो–प्यासेफिक रणनीति र एमसीसीलाई मिसाएर हेर्ने गरेका छन् । यो धारणा केही हदसम्म गलत पनि हो । यसलाई बुझ्न नेपालतर्फ र अमेरिकातर्फबाट पनि गल्ती भयो भन्ने लाग्छ । हामीले यो सम्झौता लिने हो भने पनि प्रष्ट भने हुन्छ, नलिने हो भने पनि प्रष्ट भने हुन्छ ।’

सङ्घीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

समितिको सोमवारको बैठकमा भारतका लागि प्रस्तावित डा. शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ–आफ्नो अनुभव, योग्यता, सोच र अवधारणासम्बन्धी जानकारी लिएपछि उनीहरूको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

प्रतिक्रिया