काठमाडौं, २० मंसिर । नेपालमा पनि ओमिक्रोन भेरिअन्टका दुई जना सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको बीबीसीले बताएको छ । सोमवार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह–प्रवक्ता समिर अधिकारीले नेपालमा पनि कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट भेटिएको बताएका हुन् ।
ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको उनले बताए । उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो ।
दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ । यो भरिअन्ट अत्यधिक उत्परिवर्तित भएको भनिएपनि खोपको प्रभावकारिता हुने वा नहुनेबारे बैज्ञानिकहरू अझैसम्म स्पष्ट भइसकेका छैनन् । विश्व स्वास्थ्य सङ्गठनका वैज्ञानिकहरूले यसबाट नआत्तिन तर सचेत रहन आग्रह गरेका छन् ।