नेतृ आङ सान सू चीलाई चार वर्ष जेल सजाय
अखबार टुडे
प्रकाशित:
२०७८, २० मंसिर

काठमाडौं, २० मंसिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ ।

म्यान्मारको सैनिक सरकारका एक प्रवक्ता जाव मिन टुनले आङ सान सू चीलाई सेनाविरुद्ध नागरिकलाई भड्काएको, कोभिड–१९ रोकथामका मापदण्ड उल्लङ्घन गरेको जस्ता आरोपमा उनी दोषी पाइएको बताएका छन् ।

७६ वर्षीया सचीविरुद्ध ११ भिन्नाभिन्नै अभियोगहरू लगाइएका छन् । यदि सुकीमाथि लागेका सबै आरोपमा अदालतले दोषी ठहर्याए उनलाई आजीवन कारावासको सजाय हुन सक्ने बीबीसीले जनाएको छ । गत फेब्रुअरीमा सैन्य कूमार्फत् निर्वाचित गैरसैनिक सरकार सत्ताच्यूत गरिएयता सू चीलाई घरमै नजरबन्दमा राखिएको छ । अब उनलाई कहिलेदेखि जेलमा राखिने भन्ने प्रस्ट भइसकेको छैन ।

सू ची नेतृत्वको नेशनल लिग फर डेमोक्र्यासी पार्टीले गत वर्षको आम चुनावमा बहुमत ल्याएको थियो तर उक्त चुनावमा धाँधली भएको भन्दै सेनाले कू गरेको थियो । तर स्वतन्त्र चुनाव पर्यवेक्षकहरूले भने निर्वाचन समग्ररूपमा स्वतन्त्र र निष्पक्ष रहेको बताएका थिए ।

उक्त कूपश्चात् म्यान्मारमा व्यापक विरोध प्रदर्शनहरू भएका थिए । सेनाले त्यहाँ प्रजातन्त्र समर्थकहरू, अभियानकर्मीहरू तथा पत्रकारहरूविरुद्ध दमन गरेको थियो । फेब्रुअरी यता सैन्य शासकहरूले १०,६०० भन्दा धेरै मानिस गिरफ्तार गरेका छन् भने विरोध प्रदर्शनका क्रममा १३०३ जना मारिएको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स नामक अनुगमन गर्ने समूहले जनाएको छ ।

प्रतिक्रिया