
काठमाडौं, २० मंसिर (एजेन्सी) । चरम आर्थिक सङ्कटमा रहेको पाकिस्तानले साउदी अरबबाट तीन अर्ब डलर ऋण पाएको बीबीसीेले जनाएको छ ।
प्रधानमन्त्री इमरान खानका वित्तीय सल्लाहकार शैकत तरिनले शनिवार साउदी अरबबाट तीन अर्ब डलर ऋण सरकारी खातामा जम्मा भएको पुष्टि गरेको बताइएको छ । शौकत तरिनले ट्वीट गर्दै भनेका छन्, ‘म यो सहयोगका लागि साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान र र साउदी अरबलाई धन्यवाद दिन्छु ।’
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गएको महिनाको २४ तारिखमा आफूसँग देश चलाउनका लागि पैसान नभएको र ऋण बढिरहेको बताएका थिए । महँगी, विदेशी मुद्राको न्यून सञ्चिती, चालु खाताको अत्यधिक घाटा, मुद्राको अवमूल्यन लगायतका कारण पाकिस्तान आर्थिक सङ्कटमा फसेको छ ।
साउदी अरबबाट पाकिस्तानले चार प्रतिशत ब्याज दरमा ऋण प्राप्त गरेको हो । ऋण पाएपछि पाकिस्तानको विदेशी मुद्रा सञ्चितीमा केही राहत मिल्ने र शेयर बजारमा पनि केही सुधारको अपेक्षा गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
पाकिस्तानको विदेशी ऋण बढेर ३० हजार खर्ब पुगेको छ । समयमै ऋण तिर्न नसक्दा कैयौँ देश र संस्थाले पाकिस्तानलाई थप ऋण नदिने घोषणा गरिसकेका छन् ।