- एमपी सुब्बा
काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय अध्यक्षमा निर्वाचित भएपछि राजेन्द्र लिङ्देनले भने, ‘म कुराले मात्र होइन, परिणामले देखाउँछु ।’
‘पूर्वपञ्चहरुको पार्टी’ भनेर चिनिने राप्रपाको मुख्य एजेण्डा भनेको राजसंस्था पुर्नस्थापना र हिन्दू राज्य कायम गर्नु हो । तर, निर्वतमान अध्यक्ष कमल थापाले पार्टीको एजेण्डालाई आत्मसाथ नगरेको भन्दै कार्यकर्ताले नेतृत्वबाट ‘आउट’ गरे अर्थात लिङ्देनलाई विजयी गराए । यससँगै अब राजसंस्थाको वकालत गर्ने जिम्मा लिम्बूका छोरा लिङ्देनले पाएका छन् ।
राप्रपाको नवनिर्वाचित अध्यक्ष लिङ्देनले त्यसका लागि आइतबार सपथ समेत खाइसकेका छन् । सपथ ग्रहणपछि अध्यक्ष लिङ्देनले राप्रपालाई देशकै प्रमुख राजनीतिक दलको रुपमा स्थापना गर्ने दावी गरे ।
उनले भने, ‘हामी कुनै पार्टीभन्दा कमजोर छैनौँ । राजतन्त्र र हिन्दू राष्ट्रको घोषणा अब हामी सडक आन्दोलनबाटै घोषणा गर्न सक्छौं ।’ उनले सडक र सदन दुबैतर्फ संघर्ष जारी राख्ने बताउँदै पार्टीको एजेण्डा पूरा गर्नका लागि पार्टीलाई बलियो बनाउने आगामी कार्ययोजना तय गर्ने बताए ।
यतिमात्र नभएर अध्यक्ष लिङ्देनले आउने स्थानीय तहका साथै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाको उम्मेदवार जिताउन नेपाली जनता पार्टीको साथमा रहने समेत दावी गरेका छन् ।
निर्मल निवासदेखि रुष्ट थापा
एकता महाधिवेशनमा पराजयपछि निर्वतमान अध्यक्ष कमल थापा रुष्ट बनेका छन् । उनले आफ्नो हारमा ‘निर्मल निवास’ अर्थात ज्ञानेन्द्र शाहको चलखेल भएको टिप्पणी मात्र नभएर निष्कर्षमै पुगेका छन् ।
आइतबार बिहान निर्वाचनको परिणाम आएलगत्तै थापा पक्षको समीक्षा भेला गरेको थियो । राजधानीको एक पाँचतारे होटलमा करिब २ घण्टा लामो चलेको भेलामा चुनावी समीक्षा गर्दै आफू पराजय हुनका ज्ञानेन्द्रको हात रहेको निष्कर्ष निकालेको थियो । अन्य नेताहरुसमेत महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह हाबी भएकाले भनेजस्तो नतिजा नआएको निष्कर्षमा पुगेका थिए ।
तर, कमल थापा पक्षबाट महामन्त्रीमा निर्वाचित भुवन पाठकले चुनावपछि सामान्य भेटघाटमात्रै भएको दाबी गरेका छन् । उनले भने, ‘अनौपचारिक छलफल भएको हो । त्यस्तो उल्लेखनीय केही छलफल भएको थिए ।’
राप्रपाको निर्वाचनमा लिङ्देनसँग हारेसँगै आइतबार बिहान ट्विटरमार्फत कमल थापाले निर्मल निवासले नांगो हस्तक्षेप भएको टिप्पणी गरेका थिए । उनले लेखेका छन्, ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’
झण्डै तीन दशक राजसंस्थाको वकालत गर्दै राप्रपाका रजगज गरेका थापाको पराजयसँगै निर्मल निवास खुसी भएको छ । निर्मल निवासले खुसी मनाउनु र कमल थापाले रोष प्रकट गर्नु संयोगमात्र पक्कै होइन । सधैं पदमा रहेरपनि पार्टीको एजेण्डामाथि कुठराघात गर्नु नै थापाको पराजय हो ।
तर, यतिले मात्र लिङ्देन विजयी हुनुको पुष्टि हुँदैन । लिङ्देन अध्यक्षमा निर्वाचित हुनु भनेको थापाले पार्टी कार्यकर्ताको मनभावमाथि कुठराघात गरेको परिणाम पनि हो । तर, कमल थापाले आफूले भनेजस्तो आफ्नो पराजय सहर्ष स्वीकारेका छैनन् । त्यो कुरा उनले पटक पटक सामाजिक सञ्जाल पोख्ने अभिव्यक्तिले पनि प्रष्ट गर्छ ।
कमल थापाले लिङ्देनसँग पराजय व्यहोरेपछि आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा धाराप्रर्वाह आक्रोश व्यक्त गरिरहेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहबिरुद्धसमेत आक्रोश व्यक्त गरिहेका छन् ।
थापाले आफ्नो अन्तर्मनभित्र रहेको मान्यतामा गम्भीर प्रश्नचिह्न खडा भएको समेत बताउन थालेका छन् । आइतबार अपरान्ह उनले सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मेरो अन्तर्मनभित्र मेरो मान्यतामाथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो ।’
उनले लेखेका छन्, ‘पोहोर साल खुशी फाट्दा जतन गरि मनले टाले त्यहि साल माया फाट्यो त्यसलाई पनि मनले टाले यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो ?’