काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो विजयमा जुलुश ननिकाल्न र माला नलगाइदिन आह्वान गरेका छन् । एकता महाधिवेशनमा कमल थापालाई पराजित गर्दै राप्रपाको नेतृत्व आफ्नो हातमा लिएका लिङ्देनले आजबाट गुटबन्दी सकिएको समेत दावी गरे ।
आफ्नो जीतपछि अध्यक्ष लिङ्देनले प्रतिनिधि तथा कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘यो आन्तरिक प्रतिस्पर्धा हो, तपाईंहरुले विजय जुलुस निकाल्नु पर्दैन । माला पनि लगाइदिनुपर्दैन ।’
उनले आफ्नो जीतसँगै पार्टीमा गुटबन्दी सकिएको बताउँदै भने, ‘आन्तरिक प्रतिस्पर्धामा हिजोसम्म जे भयो–भयो, अब आजबाट हामी सबै एक छौं । कुनै गुट छैन । यो विजयी नेतृत्व परिवर्तनको अनेक आयाम र उपलब्धि छन् । सबैभन्दा ठूलो उपलब्धि भनेको हिजो हामी एउटा नेताको मान्छे भएर पार्टीको कार्यक्रममा जान्थ्यौं । आजबाट हामी राप्रपाको मान्छे भएर जाने छौं ।’
अध्यक्ष लिङ्देनले आफूले बोलेको कुरा पूरा गर्ने बताउँदै भने, ‘अब परिणाममा देखाउनुपर्छ । मेरो काँधमा पनि कुराले होइन, परिणामले देखाउने जिम्मेवारी आएको छ ।’