राजसंस्था बोकेर हिंडेको पुरस्कार आज पाइयो, राजाको भलो होस्: कमल थापा
अखबार टुडे
प्रकाशित:
२०७८, १९ मंसिर

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । नयाँ नेतृत्वका लागि भएको चुनावमा प्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी भएका हुन् ।

निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय १७ मत पाएका छन् । ४३१ मत बदर भएको थियो ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कमल थापाले सामाजिक सञ्जालमार्फत चुनावमा आफू पराजित भएको स्वीकार गर्दै लिङ्देनलाई बधाई तथा शुभकामना दिएका छन् ।

उनले लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’

थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको पनि आरोप लगाएका छन् । उनले आफूलाई राजनीतिकरुपमा समाप्त पार्ने चेष्टा गरिएको बताएका छन् ।

‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपको भ्रर्तसना गर्दछु,’ थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्, लेखेका छन् ।

प्रतिक्रिया