‘रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छु’
अखबार टुडे
प्रकाशित:
२०७८, १८ मंसिर

काठमाडौं, १८ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनकपुरधामस्थित रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् ।

शनिबार श्रीराम जानकी विवाह महोत्सव, २०७८ को अवसर पारेर मिथिला संस्कृति समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले धार्मिक र सांस्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरका रूपमा रहेको रामजानकी मन्दिरलाई जतिसक्दो छिटो विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आफूले भरपूर कोसिस गर्ने बताएका हुन् ।

मन्त्री आलेले हजारौँ वर्ष पुरानो मिथिला सभ्यता कला, सङ्गीत, भाषा, बेषभूषाका रूपमा निकै धनी रहेको उल्लेख गर्दै रामजानकी मन्दिरको संरक्षण र विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘रामजानकी मन्दिरको सौन्दर्यकरण, संरक्षण र विकास निर्माणमा संस्कृति मन्त्रालयको पूर्ण सहयोग रहन्छ’, उनले भने ।

सो अवसरमा मन्त्री आलेले मिथिला संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न व्यक्तिलाई सम्मान गरेका थिए । विश्वभरका हिन्दूको आस्थाको केन्द्रका रूपमा रहेको प्राचीन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पहल भइरहे पनि त्यसले मूर्तरूप लिनसकेको छैन । मैथिल सभ्यताका अगुवाहरूले जनकपुरधामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन लामो समयदेखि पहल गर्दै आइरहेका छन् ।

प्रतिक्रिया