काठमाडौं, १७ मंसिर । नेपाली फिल्मकी अभिनेत्री तथा निर्मात्री रेखा थापा काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा चुनावी मैदानमा उत्रिएकी छन् ।
अभिनेत्री थापा राप्रपाको महामन्त्रीमा चुनाव लड्दैछिन् । जारी राप्रपाको एकता महाधिवेशनमा वर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देन आगामी नेतृत्व हत्याउने दाउमा प्रतिस्पर्धामा उत्रिएका छन् । थापा र लिङ्देनबीच यस महाधिवेशनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । थापा र लिङ्देन प्यानल नै बनाएर अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन् ।
अधिनेत्री थापा लिङ्देनको प्यानलमा महामन्त्रीको उम्मेदवार घोषणा गरेकी छन् । राप्रपाको नेतृत्व युवालाई दिनुपर्ने नारासहित अध्यक्ष पदमा उम्मेदवारी दिएका लिङ्देनलाई अन्य पदाधिकारीका उम्मेदवारीको समेत समर्थन देखिन्छ ।
यस्तै, रेखा थापाले पनि लिङ्देनलाई समर्थन गर्दै उनको प्यानलमार्फत महामन्त्रीको उम्मेदवारी दिएकी छन् । रेखाले महामन्त्रीको उम्मेदवारी दिएपछि उनका शुभचिन्तक र फ्यानबाट अग्रिम शुभकामना व्यक्त आइरहेको छ ।
यसैक्रममा नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेशपायल राईले समेत अभिनेत्री रेखा थापालाई जतिको अग्रिम शुभकामना दिएका छन् । राजेशपायलले रेखालाई ‘हिम्मतवाली’को संज्ञा दिँदै सोशल मिडिया फेसबुकमार्फत जीतको शुभकामना दिएका हुन् ।
शुक्रबार राजेशपायलले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै भनेका छन्, ‘सदा विजयी भवः अद द बेस्ट काली’ ।
गायक राजेशपायल र अभिनेत्री रेखा मिल्ने साथी मात्र नभएर कुनै समय उनीहरुबचि विवाह गर्न लागेको समेत चर्चा चलेको थियो । तर, त्यो एउटा स्टन्ड मात्र थियो । राजेशपायल र रेखाको पुर्खौली घर खोटाङ नै हो । तर, उनीहरुबीच बोलीचालीमा ‘मामा–भान्जी’को सम्बोधन हुने गरेको छ । त्यसैले पनि राजेशपायलले रेखालाई राप्रपाको महामन्त्रीमा विजयीका लागि अग्रिम शुभकामना दिँदै अल द बेस्ट काली भनेको हुनसक्छ ।