संयोग के हो ? : ३ डिसेम्बरमै आयो ‘तिम्ले बाटो फेर्यौं अरे’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, १७ मंसिर

काठमाडौं, १७ मंसिर ।

त्यो पाइला सँगै चल्दैथियो खै कहाँ ढिला भो
बाटो पनि एउटै थियो, खै कसरी अलमल भो

यी गीतका हरफले भनेजस्तै गीतकार दर्पण राई झण्डै सात वर्षयता अल्मलिरहेका छन् । मन परेकी प्रेमिकाले अर्कै बाटो फेरेपछि अलमलिनु स्वभाविकै हो । गीतकार दर्पण भने त्यस्तै भावनामा सन् २०१५ बाट आफू अलमलिएर पनि अरुको मन जित्दै अएका । उनी लगातार शब्दमा चित्रचण गर्दै आएका छन्, ‘तिम्ले बाटो फेर्यौं अरे’ ।

आज सोही गीतको तेस्रो सिरिज अर्थात ‘तिम्ले बाटो फेर्यौं अरे–३’ सार्वजनिक भएको छ । आज डिसेम्बर ३, जबकि यसअघि यस गीतको दुई वटा सिरिज आइसकेको छ । ती दुईवटै सिरिज पनि डिसेम्बर ३ मै सार्वजनिक भएको थियो । डिसेम्बर ३ र गीतकार दर्पणको यो संयोग साँच्चीकै फापसिद्ध देखिन्छ । किनकि, ‘तिम्ले बाटो फेर्यौं अरे’ नेपाली गीतसंगीत क्षेत्रका लागि एउटा टर्निङ प्वाइट हो, जसले नेपाली संगीत क्षेत्रमा ट्रेण्ड नै परिवर्तन गर्यो ।

डिसेम्बर ३ को संयोगबारे गीतकार दर्पण भन्छन्, ‘यो गीत सार्वजनिक मितिमा एउटा संयोगजस्तै हो । पहिलोपटक ‘तिम्ले बाटो फेर्यौं अरे’ डिसेम्बर ३ मा रिलिज भएको थियो । दोस्रो पनि ३ डिसेम्बरकै साइत जुरेको थियो ।’

यस गीतसँग सुरुदेखि नै जोडिएकी गायिका हुन् मेलिना राई । मेलिनाका लागि समेत ‘तिम्ले बाटो फर्यौं अरे’ फापसिद्ध भएको छ । जुन गीतले मेलिनालाई २०१५ मा चर्चामा ल्याएको थियो । यो तेस्रो सिरिजमा पनि मेलिनाकै स्वर रहेको छ ।

गायकसमेत रहेका विक्रम राईको संगीत रहेको यो गीतमा गीतकार दर्पण राई, गायिका मेलिना र मोडल सम्झना राई फिचरिङ छन् । भिडियोमा सम्झनालाई तस्बिर फिचरिङ गरिएको छ । नेपाली म्युजिक भिडियोका लागि जुन नयाँ प्रयोग मान्न सकिन्छ । यस भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

‘गीत सार्वजनिक गरेपछि मोडल समेत रहेका गीतकार दर्पणले भने, ‘अब ‘तिम्ले बाटो फेर्यौं अरे’को एउटामात्र सिरिज आएँछ । त्यसपछि कथा पनि पूरा हुन्छ ।’ ‘तिम्ले बाटो फेर्यौं अरे’ लभ सेन्टिमेन्ट गीत हो । यसै गीतमार्फत गीतकारका रुपमा ख्याती कमाएका दर्पणले यसै नाममा नेपाली फिल्म समेत निर्माण गर्दैछन् ।

‘चौथो सिरिज आएपछि फिल्मको काम सुरु हुन्छ’ उनले भने, ‘फिल्मले पनि गीतकै कथा चित्रण गर्छ ।’ ‘तिम्ले बाटो फेर्यौं अरे’ एउटा विशुद्ध लभ स्टोरी बोकेको गीत हो । गीतमा एउटा असल प्रेमीको भावनालाई कलात्मक रुपमा चित्रण गरिएको छ । एक किसिमले भन्ने हो भने ‘तिम्ले बाटो फेर्यौं अरे’ गीत एक प्रेमीले प्रेमिकाप्रति दर्साएको एकात्मक प्रेमभाव हो ।

‘तिम्ले बाटो फेर्यौं अरे’ तेस्रो सिरिजसम्म आइपुग्दा पनि कथा जोडिएकै छ । फरक यतिमात्र होकि वान साइटेड लभबाट सुरु भएको कथा त्रिकोणात्मक सेन्टिमेन्टमा अन्त्य हुन्छ । र, ‘तिम्ले बाटो फेर्यौं अरे’ कथा प्रेम सम्बन्ध टुंगिए जसरी सदाका लागि समाप्त हुन्छ । तर, त्यसका लागि चौथौं सिरिजसम्म कुर्नुपर्ने छ ।

प्रतिक्रिया