काठमाडौं, १७ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए ।
शर्माका अनुसार प्रकाशित नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।
यस्तै, एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा पठाउन सकिनेछ । गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म १२ कक्षाको परीक्षा भएको थियो । परीक्षामा देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए ।
जसमध्ये, सात हजार ३६ जनाले ‘ए’ प्लस ग्रेड ल्याएको, ४८ हजार २३९ जनाले ‘ए’ ग्रेड ल्याएको, ७० हजार एक जनाले ‘बी’ प्लस र ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’ ग्रेड ल्याएका छन् ।
‘सी’ प्लस ग्रेड परीक्षार्थी ७५ हजार ८८ जना र ‘सी’ ग्रेड ल्याउने २४ हजार ५१५ परीक्षार्थी रहेको छ । बोर्डका अनुसार ‘डी’ प्लस ल्याउने परीक्षार्थीमा तीन हजार ८७५ रहेका छन् भने ‘डी’ प्लस ल्याउने परीक्षार्थी २९६ जना छन् भने १० हजार ७३ परीक्षार्थीले ‘इ’ ग्रेड ल्याएका छन् ।
परीक्षामा सहभागीमध्ये ४६ जना परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको र चार जना परीक्षार्थीलाई आगामी एक वर्षसम्म बोर्डको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी रद्द गरिएको बोर्डले जानकारी दिएको छ ।