‘तिम्ले बाटो फेर्यौं अरे-३’ रिलिजको पूर्वसन्ध्यामा दर्पणको खुलासा, ‘अब कथा समाप्त हुन्छ’
अखबार टुडे
प्रकाशित:
२०७८, १६ मंसिर

काठमाडौं, १६ मंसिर । गीतकार तथा मोडल दर्पण राईले आफ्नो चर्चित गीतको ‘तिम्ले बाटो फर्यौं अरे’को तेस्रो सिरिज शुक्रबार सार्वजनिक गर्दैछन् । ‘तिम्ले बाटो फेर्यौं अरे-३’ रिलिजको पूर्वसन्ध्यामा गीतकार दर्पणले उक्त गीतबारे नयाँ खुलासा गरेका छन् ।

बिहीबार साँझ अखबार टुडेसँग अनौपचारिक कुरा गर्दै गीतकार दर्पणले भने, ‘तिम्ले बाटो फेर्यौं अरे-३’ रिलिजलगत्तै सिरिज चारको काम अगाडि बढ्छ । त्यसपछि गीतको कथा पनि पूरा हुन्छ ।’

‘तिम्ले बाटो फेर्यौं अरे’ लभ सेन्टिमेन्ट बोकेको गीत हो । यसै गीतमार्फत गीतकारका रुपमा ख्याती कमाएका दर्पणले यसअघि नै ‘तिम्ले बाटो फेर्यौं अरे’ नाममा नेपाली फिल्म समेत निर्माण गर्ने घोषणा गरिसकेका छन् । तर, गीतको कथा नटुंगिएकाले फिल्म निर्माण रोकिएको थियो । ‘चौथो सिरिज आएपछि भने फिल्मको काम सुरु हुन्छ’ उनले भने, ‘फिल्मले पनि गीतकै कथा चित्रण गर्छ ।’

सन् २०१५ पहिलो पटक ‘तिम्ले बाटो फेर्यौं अरे’ गीत रिलिज भएको थियो । त्यसपछि तीन वर्षको ग्यापमा यस गीतको सिरिज सार्वजनिक गर्दै आएका गीतकार दर्पण भन्छन्, ‘यो गीत सार्वजनिक मितिमा एउटा संयोग जस्तै भएको छ । पहिलोपटक ‘तिम्ले बाटो फेर्यौं अरे’ पनि डिसेम्बर ३ मा रिलिज भएको थियो । दोस्रो पनि ३ डिसेम्बरकै साइत जुरेको थियो भने तेस्रो सिरिज पनि ३ डिसेम्बर अर्थात शुक्रबार सार्वजनिक हुँदैछ ।’

गीत हिट हुन्छ भन्ने सोचेकै थिइनँ

‘तिम्ले बाटो फेर्यौं अरे–३’ सार्वजनिक हुँदै गर्दा गीतकार दर्पणले अर्को पनि तथ्य खोले । उनले भने, ‘पहिलोपटक तिम्ले बाटो फेर्यौं अरे’ गीत ल्याउँदा यसरी हिट हुन्छ र सिरिज बन्दै जान्छ भन्ने कल्पना पनि गरेको थिइनँ ।’ हुन पनि सुरुमा यो गीत श्रोता दर्शकको मन मुटुमा बस्ला भन्ने कमैले सोचेका थिए । तर, जब गीत रिलिज भयो, त्यसपछि नेपाली सांगीतिक क्षेत्रमा लकबस्टर मात्र बनेन । तिम्ले बाटो फेर्यौं अरे गीतले नेपाली संगीत क्षेत्रमा ट्रृेण्ड नै परिवर्तन गर्यो ।

‘तिम्ले बाटो फेर्यौं अरे’ गीत आउनुअघि नेपाली आधुनिक गीतले युट्बमा करोड भ्युअर्स पाएको रेकर्ड थिए । तर, जब यो गीत युट्बमा करोड क्लवको रेकर्ड राख्यो, त्यसपछि नेपाली गीतप्रतिको दर्शक तथा श्रोताको सोचमा समेत परिवर्तन ल्यायो । यो आम नेपाली संगीतकर्मीका लागि खुसीको कुरा थियो ।

गीतको कथा

‘तिम्ले बाटो फेर्यौं अरे’ एउटा विशुद्ध लभ स्टोरी बोकेको गीत हो । गीतमा एउटा असल प्रेमीको भावनालाई कलात्मक रुपमा चित्रण गरिएको छ । एक किसिमले भन्ने हो भने ‘तिम्ले बाटो फेर्यौं अरे’ गीत एक प्रेमीले प्रेमिकाप्रति दर्साएको एकात्मक प्रेमभावना हो । गीतमा आफूलाई मन परेकी प्रेमिकाले बाटो फेरेर अर्कोतिर लागेपछि प्रेमीले पोख्ने भावना हो ।

यो गीत तेस्रो सिरिजसम्म आइपुग्दा पनि उस्तै भावनामा बोकेको छ अर्थात हरेक सिरिजमा त्यो कथा जोडिएको छ ।

त्यो पाइला सँगै चल्दैथियो खै कहाँ ढिला भो
बाटो पनि एउटै थियो, खै कसरी अलमल भो

‘तिम्ले बाटो फेर्यौं अरे–३’को पहिलो हरफ हो यो । यी शब्दले पनि ‘तिम्ले बाटो फेर्यौं अरे–३ मा एउटा प्रेम कथाको इन्डिङ हुँदैछ भन्ने संकेत गर्छ । सुरुमा उल्लेख गरिएअनुसार तर कथा चारमा आएपछि मात्र अन्त्य हुन्छ । गीतकार दर्पणका अनुसार वान साइटेड प्रेमबाट सुरु भएको कथा त्रिकोणात्मक सेन्टिमेन्टमा अन्त्य हुन्छ । उनले भने, ‘तिम्ले बाटो फेर्यौं अरे–३’ मा दर्शक तथा श्रोताले केही सस्पेन्स पाउनेछन् । तर कथा स्पष्ट छ ।’ उनका अनुसार ‘तिम्ले बाटो फेर्यौं अरे-३’ हेर्ने सुन्नेले चार पनि हेर्नै पर्नेछ ।’

पात्रहरु
‘तिम्ले बाटो फेर्यौं अरे-३’
गीतकार : दर्पण राई
गायिका : मेलिना राई
संगीतकार : विक्रम राई
भिडियो निर्देशक : शान थापा
कास्ट : दर्पण राई, मेलिना राई र सम्झना राई
लोकेशन :एनएफडिसी स्टुडियो, बालाजु

प्रतिक्रिया