पेङ प्रकरण: चीनमा हुने सबै अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामाथि प्रतिबन्ध
अखबार टुडे
प्रकाशित:
२०७८, १६ मंसिर

काठमाण्डौं, १६ मंसिर । महिला टेनिसको अन्तर्राष्ट्रिय सर्वोच्च निकाय वुमन्स टेनिस एसोसिएशन–डब्लूटीएले चिनियाँ टेनिस खेलाडी पेङ सुआईको सुरक्षामा चिन्ता व्यक्त गर्दै चीनमा हुने सबै अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामाथि प्रतिबन्ध लगाएको छ ।

चीनका पूर्व उपप्रधानमन्त्री झाङ गावोलीमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी पेङ सुआई त्यसयता सार्वजनिकरुपमा नदेखिएपछि डब्लूटीएसहित विश्वका चर्चित खेलाडीहरुले उनको जीवन रक्षा र घटनाको छानबिनको माग गर्दै आएका थिए । तर सम्बद्ध निकाय आफ्ना मागप्रति उदासीन रहेको भन्दै प्रतिबन्ध लगाउनु परेको डब्लूटीएले जनाएको छ ।

महिला डबल टेनिसकी पूर्व नम्बर १ खेलाडीसमेत रहेकी ३५ वर्षीया पेङले नोभेम्बर २मा चीनका एकजना भूतपूर्व उपप्रधानमन्त्री झाङ गाओलीमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । त्यसयता ३५ वर्षीया पेङ कुनै पनि सार्वजनिक स्थानमा देखिएकी छैनन् ।

आइतबार चिनियाँ सरकारी समाचार माध्यम ग्लोबल टाइम्सले उनको एक भिडियो सार्वजनिक गरेको थियो । उक्त ३० मिनेट लामो भिडिओमा पेङले ओलम्पिक कमिटीका अध्यक्षसँग भिडिओ कलमार्फत् कुराकानी गरेको देखिन्छ । भिडिओमा उनले आफू सुरक्षित र सकुशल रहेको बताएकी छन् ।

प्रतिक्रिया