काठमाडौं, १६ मंसिर । नेपाली काँग्रेसले १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ । विहीबार काँग्रेस केन्द्रीय निर्वाचन समितिले एक विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन कार्यक्रम स्थगित गरेको हो ।
आजबाट प्रदेश अधिवेशन सुरु भएकाले जिल्ला अधिवेशन अब महाधिवेशनपछि मात्र गर्ने काँग्रेस निर्वाचन समितिले जनाएको छ । काँग्रेसले अहिलेसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । प्रदेश एकका १४ जिल्ला र कर्णालीका १० जिल्लाका अधिवेशन सम्पन्न भएको छ ।
प्रदेश दुईमा भने नेतृत्व चयन गर्न ८ जिल्लामै बाँकी छ । यस्तै बागमती प्रदेशमा चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोक, जिल्ला अधिवेशन सम्पन्न भएको छैन । गण्डकीमा प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ भने लुम्बिनी प्रदेशमा बाँकेमा पनि जिल्ला अधिवेशन भएको छैन ।
यस्तै सुदूरपश्चिम प्रदेशका कैलाली र अछाममा पनि जिल्ला अधिवेशन रोकिएको छ । यी जिल्लाहरुको अधिवेशन अब १४औँ महाधिवेशनपछि मात्रै गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।