काठमाडौं, १६ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै अब मुस्ताङ प्रवेश गर्न पीसीआर नेगेटिभ रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले यो निर्णय गरेको हो । उक्त निर्णय गएराति १२ बजेदेखि आउँदो २९ गते राति १२ बजेसम्म लागू हुने बताइएको छ ।
निर्णयअनुसार मुस्ताङमा स्थायी बसोबास गर्ने व्यक्ति र पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीबाहेक ७ दिन भित्रको पीसीआर नेगेटिभ रिपोर्ट नभएका विदेशी नागरिक तथा ७ दिन भित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा खोप कार्ड वा ७२ घण्टा भित्रको एन्टिजेन परीक्षण रिपोर्ट नभएका व्यक्ति मुस्ताङ जान पाउने छैनन् ।
यस्तै, सार्वजनिक ठाउँ, मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजारलगायतका भीडभाड हुने खालका कार्यक्रम नगर्न पनि आदेश दिएको छ । यस्तै, २५ जनाभन्दा धेरै भेला हुन नपाउने आदेश जारी गरिएको छ ।