
काठमाडौं, १६ मंसिर । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालतमा अवरोध हुँदै आएको र प्रधानन्यायाधीश जबरा बिरामी परेकाले तत्काल कार्यवाहक न्यायाधीश तोकेर कामकारबाही अघि बढाउन सुझाव दिएको हो ।
बैठकले प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने निष्कर्ष निकालेको सरकारका प्रवक्ता सञ्चार, सूचना तथा प्रविधि मन्त्री प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत सहभागी थिए ।