काठमाडौ, १५ मंसिर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको बताएका छन् ।
बुधबार काठमाडौंमा निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामयिक विषयहरुमा गरिएको अन्तरक्रियामा उनले भने, ‘अब आयोगले जो जहाँ छ त्यहीँबाट मतदाता नामावलीमा नाम दर्ता गराउन पाउने व्यवस्था मिलाएको छ । दर्ता आफू बसेको ठाउँबाट गरिए पनि त्यो रेकर्ड सम्बन्धित नगर, गाउँ, वडामा आयोगले पठाइदिन्छ ।’ उनले मतदाता नामावली संकलन अभियानका लागि गाउँपालिका र नगरपालिकाको केन्द्रमा जनशक्ति पठाउने कार्य भइरहेको जानकारी दिए ।
उनले अब ७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै ईलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरिएको बताए ।
यस्तै, प्रमुख आयुक्त थपलियाले आउँदो माघ १२ गते राष्ट्रियसभाको चुनाव गर्ने गरी आयोगको तयारी गरिरहेको बताए । उनले उपनिर्वाचनका लागि अहिले २२ स्थान रिक्त रहेको र सरकारले मिति तोके उपनिर्वाचन गराउन आयोग तयार रहेको पनि बताए ।