कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत, एमाले सांसद अनुपस्थित
अखबार टुडे
प्रकाशित:
२०७८, १५ मंसिर

काठमाडौं, १५ मंसिर । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । उनले नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र राप्रपाको समर्थनमा विश्वासको मत पाएका हुन् ।

उनले मंगलबार प्रदेशसभा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए । बुधबार उपस्थित २२ जना प्रदेशसभा सदस्य मध्ये उनको पक्षमा २२ मत नै खसेको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने सहभागि थिएन्न । मुख्यमन्त्री शाहीलाई उनको दल नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसदले मत दिएका छन् ।

कर्णाली प्रदेश सभामा राप्रपाका एकमात्र सांसद सोशिला शाहीले मुख्यमन्त्री शाहीलाई समर्थन गरेकी हुन् । गत वैशाख ३ गते यसअघिका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा उनी तटस्थ बसेकी थिइन् । नेकपा एमाले संसदीय दलले समर्थन फिर्ता लिएपछि पूर्वमुख्यमन्त्री शाही अल्पमतमा परेका थिए । सो समयमा सोशिला शाहीले उनलाई समर्थन गरेकी थिइनन् ।

त्यसबेला तत्कालीन समय एमालेमा रहेका (अहिले समाजवादीमा आबद्ध) चार जना तत्कालीन सांसदहरूले फ्लोर क्रस गरेपछि महेन्द्र शाही मुख्यमन्त्रीमा टिकेका थिए । त्यसबेला ओलोपालो सरकार सञ्चालन गर्ने सम्झौतामा कांग्रेसले माओवादीका महेन्द्र शाहीलाई समर्थन गरेको थियो । सोही सम्झौता अनुसार जीवनबहादुर शाही कात्तिक १६ गते कर्णाली प्रदेशको दोस्रो मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले ३० औं दिनमा विश्वासको मत लिएका हुन् ।

प्रतिक्रिया