नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई अर्थमन्त्रीको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, १५ मंसिर

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न सरकारले सहयोग गर्ने बताउँदै मोबाइल उत्पादनतर्फ ध्यान दिन मोबाइल व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

बुधबार मोबाइल वितरक सङ्घको दोस्रो महाधिवेशनको उद्घाटनमा उनले सो कुरा बताएका हुन् । ‘मेरो मोबाइल कम्पनीले नेपालमा नै मोबाइल फोन उत्पादन गर्ने तयारी गरेको भन्ने मैले सुनेको छु, मेरो मोबाइल मात्र हैन, तपाईंहरुले पनि फोन उत्पादनमा जोड दिनुस्, सरकारले गर्न सक्ने सहयोग गर्छ’, उनले भने ।

यस्तै, उनले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) तत्काल लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जानकारी गराए । ‘गत साउनबाट एमडिएमएस लागू भएको मलाई जानकारी आएको थियो । तर पूर्णरुपमा लागू नभएको कुरा मैले हिजो मात्र सुने, एमडिएमएस लागू गर्न के समस्या भएको हो, तत्काल समाधान गरी लागू गर्न मैले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु’, उनले भने, ‘अवैध रुपमा हुने कारोबार र राजस्व चुहावट रोक्न सरकार सधैँ तयार छ ।’

मोबाइल व्यवसायीहरुले अर्थ मन्त्रालयका कारण एमडिएमएस लागू गर्नमा ढिलाइ भएको कुराप्रति उनले खण्डन गर्दै एमडिएमएस पूर्ण रुपमा लागु हुने बताउँदै ढुक्क हुनुस् आग्रह गरे ।

मोबाइल फोन व्यवसायीहरुले सरकारले नियमन नगर्दा ५० प्रतिशत फोन भारत लगायतका देशबाट नेपालमा अवैध रुपमा भित्रने गरेको बताउँदै आएका छन् । पछिल्लो समय भएका अधिकांश आपराधिक गतिविधिहरु अवैध फोनको सहयोेगमा भएको भन्दै व्यवसायीहरुले तत्काल अवैध फोन नियन्त्रण गर्न सरकारसँग आग्रह गरेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने भन्दै गत साउनदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको थियो । तर सो सिष्टम पूर्ण रुपमा लागू हुन सकेको छैन । प्राधिकरणले पुस १ गतेदेखि पूर्णरुपमा एमडिएमएस लागू गर्ने तयारी भएको जनाउँदै आएको छ ।

प्रतिक्रिया