काठमाडौं, १५ मंसिर (एजेन्सी) । चीनले यदि ताइवानमाथि हमला गरेको खण्डमा जापान र अमेरिका चुप नबस्ने कुरा जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेले बताएको रोयटर्सले जनाएको छ ।
रोयटर्सका अनुसार बुधबार आबेले ताइवानको एउटा थिंक ट्याङ्कलाई दिएको भर्चुअल भाषणमा भनेका छन्, ‘ताइवानमा आपतकाल जापानको पनि आपतकाल हो । त्यस हिसाबले यो जापान–अमेरिका गठबन्धनका लागि आपतकालजस्तो स्थिति हुनेछ । चीनका जनता विशेषगरी राष्ट्रपति शी जिनपिङले पनि कहिल्यै यो भ्रम पाल्नु हुँदैन कि जापान र अमेरिकाले उनलाई साथ दिनेछन् ।’
आबेले जापान र ताइवानले स्वतन्त्रता र प्रजातन्त्रको रक्षा गर्न मिलेर काम गर्नुपर्ने बताए । आबेले निष्कर्ष एक बलियो ताइवान, विकासशील ताइवान र स्वतन्त्रता र मानव अधिकारको ग्यारेन्टी गर्ने ताइवान पनि जापानको हितमा छ । निस्सन्देह, यो सम्पूर्ण विश्वको हितमा पनि रहेको बताए ।
अघिल्लो वर्ष प्रधानमन्त्रीको पद छोडेपछि आबे जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सबैभन्दा ठूलो गुटका प्रमुख हुन् । उनलाई पार्टीभित्र निकै प्रभावशाली मानिन्छ ।