सर्वोच्चमा पहिलो पटक गोला प्रथाबाट पेसी तोकियो
अखबार टुडे
प्रकाशित:
२०७८, १५ मंसिर

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार)देखि गोला प्रथाबाट पेसी तोक्न सुरु भएको छ । बुधबार बिहान साढे १० बजे सर्वोच्चका न्यायाधीशहरूले गोला तानेर यसको सुरुवात गरेका छन् ।

बुधबार पहिलो दिन दुईवटा एकल इजलाससहित १० वटा इजलास गठन भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा कोरोना संक्रमित भएपछि प्रधानन्यायाधीशपछिका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा गोला प्रथामार्फत पेसी र इजलास तोकिएको हो ।

सर्वोच्च अदालतमा आज सबै प्रकृतिका मुद्दामा पेसी तोकिएको छ । सर्वोच्च अदालत नियमावली संशोधन र गोला प्रथाबाट पेसी तोक्नेसम्बन्धी निर्देशिका जारी गरेर सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायाधीशहरुको इजलास गठन गरी मुद्दा तोक्ने अधिकार प्रधानन्यायाधीशबाट कटौती गरेको हो । यसबाट पेसी व्यवस्थापनमा देखिएका विकृति र विसंगति कम हुने अनुमान गरिएको छ ।

योसँगै गएको कात्तिक ८ गतेदेखि इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीशहरू पनि इजलासमा फर्किएका छन् भने नेपाल बार एसोसिएशनले समेत गोला प्रथाको स्वागत गरेको द्ध छ ।

प्रतिक्रिया