आजदेखि राप्रपाको महाधिवेशन, अध्यक्षमा थापा र लिङ्देन प्रतिस्पर्धा गर्दै
अखबार टुडे
प्रकाशित:
२०७८, १५ मंसिर

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । भृकुटीमण्डपमा आज बिहान साढे ११ बजे उद्घाटन समारोह रहेको बताइएको छ ।

कमल थापा, पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाको एकीकरण पछि हुन लागेको हो । यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ । पर्सिसम्म चल्ने महाधिवेशनमा झण्डै चार हजार चार सय प्रतिनिधि सहभागी हुँदैछन् ।

कुल एक सय ९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात अध्यक्षसहित एक सय ४७ जना प्रत्यक्ष तथा बाँकी २५ प्रतिशत अर्थात ५२ जना नयाँ कार्यसमितिले मनोनित गर्नेछ । महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन प्रतिस्पर्धामा छन् ।

तीन जना अध्यक्षमध्ये डा. प्रकाशचन्द्र लोहनीले औपचारिक रूपमा लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् । अध्यक्ष थापालाई पशुपतिशमशेर जबरा, लोकेन्द्रबहादुर चन्दलगायतको साथ रहेको छ ।

प्रतिक्रिया