एमाले अध्यक्षमा फेरि ओली : दम्भ तथा अहंकार नदेखाउन केन्द्रीय कमिटीलाई निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७८, १४ मंसिर

काठमाडौं, १४ मंसिर । नेकपा एमालेको १०औंँ महाधिवेशनले केपी शर्मा ओलीको नयाँ नेतृत्व चयन गरेको छ ।

अध्यक्षका लागि भएको मतदानमा ओलीले अध्यक्ष १८३७ मत हासिल गरेका छन् भने उनका प्रतिस्पर्धी भीम रावलले २२३ मत हासिल गरे । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, ६ उपाध्यक्षमा निर्वाचित भएका अष्टलक्ष्मी शाक्यले १९७६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा ‘बादल’ले १७६८, विष्णु पौडेलले १८५६, सुरेन्द्र पाण्डेले १९२५ र सुवास नेम्वाङले १८६५ मत हासिल गरेका छन् ।

महाधिवेशनबाट महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । यस्तै, तीन उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् ।

७ सचिवमा गोकर्ण विष्टले १९७४, छविलाल विश्वकर्माले १८०३, टोपबहादुर रायमाझीले १८०४, पदमा कुमारी अर्यालले १७९९, योगेश भट्टराईले १९६०, रघुवीर महासेठले १५०० र लेखराज भट्टले १७०४ मत हासिल गरेको जनाइएको छ ।

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले पार्टीको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अध्ययनशील हुन, दम्भ तथा अहंकार नदेखाउन निर्देशन दिएका छन् । पार्टीको दशौं महाधिवेशनअन्तर्गत मंगलबार बन्दसत्रलाई समापन गर्ने क्रममा सम्बोधन गर्दै ओलीले यस्तो निर्देशन दिएका हुन् ।

पुराना नेताले असल तौरतरिकाका साथ नयाँलाई सिकाउने र नयाँले पनि उत्सुकताका साथ पुराना नेताबाट सिक्न जरुरी रहेको उनले बताए । नवनिर्वाचित सबैलाई चनाखो ढंगले अध्ययन गर्न, परिस्थिति र विषयलाई विश्लेषण गर्ने क्षमताको विकास गर्न उनले सुझाव दिए ।

‘हामीलाई हेरेर कस्तो तरिका, कस्तो शैली, कस्तो बोलीबचन अपनाउने भनेर अरु पार्टीका मानिसले अनुशरण गर्ने खालको हुनुपर्छ,’ उनले भने, ‘हाम्रो आनीबानी नेता झैं हुनुपर्छ । कुनै पनि नेता घमण्डी, अहंकारी हुँदैन । अहंकारी मान्छे नेता हुँदैन, नेता भएपछि अहंकारी हुँदैन ।’

प्रतिक्रिया