
काठमाडौं, १३ मंसिर । कोभिडविरुद्ध खोप दोस्रो डोज लगाए पुग्ने भनिएपनि इजरायल जाने नेपाली कामदारले भने तेस्रो डोज पनि लगाउनुपर्ने भएको छ । इजरायल सरकारले त्यहाँ ‘केयरगिभर’का लागि जाने नेपालीका लागि यस्तो सर्त राखेको हो ।
इजरायल प्रवेश गर्ने नेपालीहरुले कोभिड–१९ विरुद्ध खोपको तेस्रो मात्रा पनि लगाउनुपर्ने शर्त राखेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी कमल ज्ञवालीले जानकारी दिएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरुसँगको छलफलमा इजरायलले यस्तो सर्त राखेको बताइएको छ । पहिलो र दोस्रो मात्रा लगाएको ६ महिना नाघेको अवस्थामा तेस्रो डोज पनि लगाउनुपर्ने इजरायल सरकारको शर्त रहेको अधिकारीको भनाइछ । उनका अनुसार अब नेपालीहरु कहिलेदेखि इजरायल जान पाउँछन् भन्ने विषयमा टुंगो लागिसकेको छैन । तर, यस विषयमा छलफल भइरहेको छ ।
इजरायलका लागि दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि इजरायलस्थित पपुलेशन एण्ड माइग्रेशन अथोरिटी (पिआइबिए)बाट एक हजार एक सय ७५ कामदार छनोट भइसकेका छन् । भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट योग्य एक हजार छ सय इजरायलको पिआइबिएलाई सिफारिस गरेको हो ।
पिआइबिएले चिठ्ठा प्रणालीबाट छनोट गरेर ११७५ जना कामदार सूची सार्वजनिक गरेको हो। ११७५ कामदारमध्ये ८२१ महिला र ३५४ पुरूष छन् । उनीहरुको स्वास्थ्य परीक्षण पनि सकिएको छ । स्वास्थ्य परीक्षण तथा प्रहरी रिपोर्ट आएपछि उनीहरु इजरायल जानका लागि तयार हुनेछन् ।