एमालेकै दुई खेमा : पूर्वमाओवादी नेताबीचको प्रतिस्पर्धा रोचक हुने
अखबार टुडे
प्रकाशित:
२०७८, १३ मंसिर

चितवन, १३ मंसिर । चितवनमा जारी नेकपा एमालेको १०औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारीकाका लागि अन्ततः मतदान हुने भएपछि मनोनयन कार्य पूरा भएको जनाइएको छ ।

सोमवार राति साढे नौ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको तालिका सार्वजनिक भएको छ । मतदानका लागि विद्युतीय मशिन प्रयोग गर्ने बताइएको छ । आइतवार दिनभर सहमतिको प्रयास भए पनि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा नेताहरुले उम्मेदवारी दिएपछि निर्वाचन हुने निश्चित भएको हो ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा ओली र रावलले सोमबार उम्मेदवारी दर्ता गरिसकेका छन् । उपाध्यक्षमा विष्णु पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा र अष्टलक्ष्मी शाक्यको नाम ओलीले सर्वसम्मत गर्न प्रस्ताव गरे पनि नेता घनश्याम भुसालले उम्मेदवारी दिएपछि चुनाव हुने भएको छ । एमालेकै दुई खेमा र माओवादीबाट एमालेमा आएका बादलबीच हुने प्रतिस्पर्धालाई निकै महत्त्वका साथ हेरिएको छ ।

यस्तै सचिवमा अध्यक्ष ओलीले गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई प्रस्ताव गरेपनि टङ्क कार्की र भीम आचार्यले उम्मेदवारी दिएपछि चुनाव हुँदैछ । सचिवमा सात जनाको लागि नौ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष ओलीले सर्वसम्मत गराउन खोजे पनि रायमाझी र भट्टले चुनाव जितेर मात्रै पद पाउने पक्का भएको छ।

यसरी, एमालेकै दुई पक्ष र पूर्वमाओवादी नेताहरूबीच हुने प्रतिस्पर्धा निकै रोचक हुने देखिएको एमालेका नेता तथा कार्यकर्ताहरू बताउँछन्। यस्तै, केन्द्रीय सदस्यमा सार्वजनिक गरिएका नामावली भन्दा बाहिरका केही प्रतिनिधिहरूले पनि उम्मेदवारी दिएपछि मतदान हुने भएको छ ।

प्रतिक्रिया