एमाले महाधिवेशन: वरिष्ठ उपाध्यक्षमा ईश्वर र महासचिवमा पोखरेल निर्विरोध निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०७८, १३ मंसिर

चितवन, १३ मंसिर । नेकपा (एमाले)को जारी दशौँ राष्ट्रिय महाधिवेशनमा आज(सोमबार) बिहान भएको मनोनयनमा वरिष्ठ उपाध्ययक्षमा ईश्वर पोखरेल र महासचिवमा शङ्कर पोखरेललगायत नेता निर्विरोध निर्वाचित भएका छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगले तय गरेको कार्यातालिका अनुसार उम्मेदवारी मनोनयनको समय सकिएपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै उपमहासचिवमा प्रदीपकमार ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध भएका छन् । अध्यक्षमा भने केपी शर्मा ओली र डा भीम रावलको उम्मेदवारी परेको छ । बन्दसत्रमा आइतबार अध्यक्ष ओलीबाट प्रस्ताव गरिएका उम्मेदवारविरुद्ध उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्य तथा टङ्क कार्कीले उम्मेदवारी दिएको हो ।

केन्द्रीय सदस्यमा पनि सहमतिको प्रस्तावका अतिरिक्त केही क्षेत्रका सदस्यमा उम्मेदवारी परेको र ती नामावालीको छानविन तथा दाबी विरोधको प्रक्रिया पूरा भएपछि आन्तिम नामावली प्रकाशन गरिने आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए ।

उनले विद्युतीय भोटिङ मेसिनमा डाटा इन्ट्री गर्न कम्तीमा १२ घण्टा लाग्ने भएकाले मतदान आज रातिसम्ममा सुरु हुनसक्ने बताए । हलमा सहमतिका लागि अध्यक्ष ओलीले उम्मेदवारको नाम प्रस्ताव गरे पनि निर्वाचन प्रयोजनका लागि प्रक्रिया गर्नैपर्ने उनले बताए ।

प्रतिक्रिया