चितवन, १३ मंसिर । नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने भएको छ । चितवनमा जारी १९औँ महाधिवेशनमा रावलले आफ्नो अडान नछाडेपछि मतदान हुने भएको हो ।
आइतबार बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गरेका थिए । मध्यरातमा शुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे छलफल गरेका थिए । उनले अध्यक्ष मण्डलमै रहेका रावललाई उपाध्यक्षमा बस्न प्रस्तावसमेत गरेका थिए । तर, रावलले प्रस्ताव अस्वीकार गरेका छन् ।
बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले एकताका लागि आफूले धेरै प्रयास गरेको बताए । असहमति र असन्तुष्टि हुनु स्वाभाविक भएपनि बाहिर लैजान राम्रो नभएको भन्दै उनले भने, ‘मैले धेरै पटक भीम रावललाई उपाध्यक्षको उम्मेदवार बन्न आग्रह गरें, तर सम्झाउन सकिएन ।’
तर रावलले लामो बहस गर्न चाहेनन् र अध्यक्षको उम्मेदवार हुने बताए । ‘रात गएर बिहान भयो कमरेडहरु सुत्न पाउनुभएको छैन’ उनले भने, ‘लामो बोल्दिनँ । मलाई फर्किन गाह्रो हुन्छ, अध्यक्षमा उम्मेदवारी दिन्छु ।’
रावलले अडान नछाडेपछि रावलविरुद्ध नारा लगाइएको थियो । तर ओलीले शान्त रहन आग्रह गर्दै भने, भीम रावल उम्मेदवार हुन्छु नै भन्ने हो भने उठ्न दिनुपर्छ ।’ उनले सहमतिका लागि १९ पदाधिकारीको प्रस्ताव राखे र त्यसअनुसार नै उम्मेदवारी दर्ता गर्न नेताहरूलाई आग्रह गरेका छन् ।
एमालेको निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाका अनुसार सोमबार बिहान ९ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । ओलीले सहमतिका लागि प्रस्ताव गरिएका र अरुले पनि यो अवधिमा उम्मेदवारी दर्ता गरेपछि निर्वाचनको प्रक्रिया अघि बढ्नेछ ।